विराटनगर । कोशी प्रदेशसभामा आजको बैठकले ‘प्रदेश बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव गर्नुभएको थियो । विधेयकको दफावार छलफलमा कुनै पनि सांसदले सहभागिता नजनाएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सो विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।
यस्तै पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले कोशी प्रदेश ‘प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफमा विधेयकलाई समयसापेक्ष बनाउन संशोधन गर्नु परेको जानकारी दिनुभयो । उहाँले सो विधेकयले वातावरणलाई सन्तुलन बनाउन र जलवायु परिवर्तनले हुने असरलाई कम गर्न मद्दत गर्ने भन्दै विधेयकले वातावरण अध्ययन प्रतिवेदनलाई जिम्मेवार बनाउन सहयोग गर्ने धारणा राख्नुभयो ।
प्रदेशसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ः३० बजे बस्नेछ ।