मकवानपुर । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको विष सेवनपछि निधन भएको छ। सोमबार काठमाडौंको कलंकीस्थित अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
थापाले सोमबार दिउँसो काठमाडौंको कलंकीस्थित साथीको कोठामा विष सेवन गरेका थिए। प्रहरीका अनुसार कोठामा अचेत अवस्थामा भेटिएपछि उनलाई तत्काल सहिद मेमोरियल अस्पताल लगिएको थियो, जहाँ साँझ ६:३८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
थापाको साथबाट एक पत्र बरामद भएको छ, जसमा सहकारीको पैसा लेनदेनको विवादमा आफ्नो नाम जोडिएको भन्दै बदनाम गरिएको उल्लेख छ। प्रहरी स्रोतका अनुसार सुमेरु सहकारीको आर्थिक विवादसम्बन्धी अडियो सार्वजनिक भएसँगै थापा तनावमा रहेका थिए।
यसैबीच, उक्त अडियोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अडियोमा उल्लेखित अन्य व्यक्तिहरूसँग सोधपुछ गरिसकिएको र घटनाका सम्बन्धमा थप छानबिन भइरहेको प्रहरी वृत्त कालिमाटीले जनाएको छ। मृतक थापाको शव हाल टिचिङ अस्पतालमा राखिएको छ।