काठमाडौं । ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यले अवकाशपछि मात्र नाबालिग बलात्कार प्रकरणमा विवादास्पद फैसला सुनाएका छन्। उनले जबरजस्ती करणीको आरोपमा सफाइ दिँदै आरोपित भारतीय नागरिकलाई बालयौन दुरुपयोगको कसुरमा मात्र दोषी ठहर गरेका छन्।
न्यायाधीश आचार्यले कारबाहीको डरले अवकाशअघि फैसलाको पूर्णपाठ सार्वजनिक गरेका थिएनन्। न्याय परिषद्ले उनको निर्णयमाथि छानबिन अघि बढाएपछि उनले भारत र पोखराका कार्यक्रममा व्यस्त रहेको भन्दै अदालतमा उपस्थित नभएको बताइएको छ। फागुन १६ गते अनिवार्य अवकाश पाएपछि मात्र उनले फैसलाको पूर्णपाठ उपलब्ध गराएका हुन्।
जावलाखेल १८ मा बस्ने १३ वर्षीया नाबालिगलाई आफ्नै भिनाजुले बलात्कार गरेको आरोपमा मुद्दा दायर भएको थियो। पीडित पक्षले घटनाको तत्कालै उजुरी गर्न नसकेको कारण, अदालतले ढिलो परेको जाहेरीलाई समेत मुद्दाको कमजोरीका रूपमा व्याख्या गरेको छ। सरकारी वकिल पक्षले प्रस्तुत गरेका प्रमाणहरूमा पीडितको मेडिकल रिपोर्ट, मानसिक स्वास्थ्य मूल्यांकन र प्रत्यक्षदर्शीका बकपत्रहरू समावेश गरिएका थिए। तर, न्यायाधीश आचार्यले प्रतिवादीको सफाइलाई बलियो देखाउँदै जबरजस्ती करणीको आरोपबाट उन्मुक्ति दिएका छन्।
फैसलामा एकातिर बलात्कार भएको पत्याउन नसकिने भनिएको छ भने अर्कोतिर प्रतिवादीले बालिकासँग अनुचित यौनजन्य व्यवहार गरेको हुनसक्ने उल्लेख गरिएको छ।
यसअघि न्यायाधीश आचार्यले होटेलमा आपसी सहमतिमा भएको यौन सम्बन्धलाई जबरजस्ती करणी ठहर गर्दै युवालाई जेल पठाएका थिए। तर, नाबालिग बलात्कार प्रकरणमा भने उनले पीडितलाई हतियार बनाइएको दाबी गर्दै प्रतिवादीलाई सफाइ दिएका छन्।
न्यायाधीश आचार्य ६३ वर्षको उमेर हदका कारण उनी २०८१ फागुन १६ गतेबाट अनिवार्य अवकाशमा गएका हुन । न्याय परिषद्ले अवकाशमा जाने एक महिना अगाडिबाट मुद्दा हेर्न नपाउने व्यवस्था गरेका कारण माघ १६ गते सहिद दिवसको बिदा परेको कारण उनले माघ १५ गतेभित्रै टुङ्ग्याउनु पर्ने थियो । त्यसैले उनले बकपत्रका लागि अदालत पुगेका साक्षीको बकपत्र नै नगरिएको र साक्षी बुझ्न गरिएको आग्रह पनि लत्त्याएर न्यायाधीशले फैसला गरेका थिए । त्यसैले यो मुद्दामा माघ १३ गते सुनुवाइ हुँदा अङ्ग नै नपुगेको अवस्थामा साक्षी बुझ्ने आदेश गर्नुपर्नेमा न्यायाधीश आचार्यले साक्षी बुझ्ने आदेश गर्नुपर्नेमा समय छ भनी वादी पक्षलाई गुमराहमा पारी एकै दिनमा फैसला सुनाएका थिए ।
यस्तो थियो पीडित नाबालिगले दिएको बयान:
‘जाहेरवाला हाल नाम परिवर्तित २०८१।०८२ जावलाखेल १८ (क) मेरो बुवा हुन् भने प्रतिवादी हाल नाम परिवर्तित २०८१।०८२ जावलाखेल १८ (घ) मेरो भिनाजु (सौतेनी) हुन् । मेरो बुवा तथा आमा विदेश बेलायतमा बस्ने भएकोले मेरो जन्म नै बेलायतमा भएकोले मैले बेलायतमै पढ्दै आएको थिएँ । त्यस्तै क्रममा नेपालमा अध्ययन गर्ने भनी सन् २०२२ को मे महिना अर्थात् वि.सं. २०७९ सालको वैशाख महिनामा म, बाबा (बुवा) र आमा समेत नेपाल आएकोमा बाबा (बुवा) केही अवधि नेपाल बसी म र आमालाई ललितपुरको सातदोबाटोस्थित रहेको सिभिल होममा राखी बुवा विदेश (बेलायत) फर्कनुभयो । मैले कक्षा ७ मा काठमाडौं हात्तीगौंडा स्थितमा भर्ना भई पास भई ललितपुर खुमलटारस्थित रहेको युलेन्स स्कुलमा कक्षा ८ मा भर्ना भई पढ्दै रहेको अवस्थामा मेरो आमाको काम विशेषले चितवन जानु पर्ने भएको र तत्काल मलाई सन्चो नभएकोले म चितवन नजाने भएपछि तत्काल मेरो सौतेनी दिदी–भिनाजु ललितपुरको सानेपास्थित रहेको अपार्टमेन्टमा बस्ने भएकोले मलाई सोही स्थानमा छाडी आमा मिति २०८०।०९।१३ गते भन्दा २।३ दिन अगाडी चितवन जानु भयो । म, दिदी भिनाजु सँगै ललितपुरको अपार्टमेन्टमा बसेँ । म छुट्टै कोठामा सुत्थेँ भने दिदी भिनाजु छुट्टै कोठामा सुत्नुहुन्थ्यो । मिति २०८०।०९।१३ गते म आफ्नै कोठामा सुतिरहेको अवस्थामा राती अन्दाजी ९।१० बजेतिर भिनाजुले हातमा रक्सीको गिलास लिई आउनु भई म सुतेकै बिस्तारामा सिरकभित्र पसेकाले म दिदीसँग सुत्न भनी दिदीको कोठामा जाँदा तँ तेरै कोठामा सुत भनेकाले बेडमा गई ल्यापटपमा फिल्म हेर्दै गर्दा तत्काल मलाई खोकी लागि राखेको र सोही बखत अर्थात् अन्दाजी २३:०० बजेतिर समेत मलाई धेरै खोकी लागेकोले खोक्दै गर्दा निज भिनाजुले मलाई मसाज गर्दिन्छु भन्ने बहाना गर्दै मेरो घाँटी, छाती हुँदै मेरो स्तन समेतमा चलाउने, थिच्ने गर्न थाल्नुभयो, मैले नचलाउनु भन्दा पनि निजले तिमीलाई सन्चो हुन्छ भन्दै निजले सुरुमा मैले माथि लगाएको कपडाभित्र हात हाल्दै चलाउनु भएकोमा पछि कपडा सारी मेरो …..मुखले समेत चुसी मैले शरीरको तल्लो भागमा लगाएको कपडाभित्र हात हाली निजको ….. मेरो पिसाब गर्ने अङ्ग … ….. बाहिर भित्र गरेको, सो घटनाको बारेमा आमा तथा ममीसँगै आउनु भएको अर्की दिदी हाल नाम परिवर्तित २०८१।०८२ जावलाखेल १८ (ङ) लाई समेत बताउँदा घटनाको बारेको कोही कसैसँग कुरा नगर्नु भन्नु भयो । यसरी निज भिनाजुले म माथि जबरजस्ती करणी गरेको हुँदा निजलाई कानुन बमोजिम कारबाही गरी उचित क्षतिपूर्ति समेत दिलाई पाउँ ।’