काठमाडौं । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन डीएलए नेपाललाई विधानसंवत रुपमा चलाउन पूर्व अध्यक्ष यदुनाथ खनालले माग गरेका छन् । उनले डीएलए विधान विपरित गएकाेले तत्काल डीएलएकाे वैठक बसेर समस्याकाे समाधान गर्न उनले सुझव दिएका छन । उनले भनेका छन् :
नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (डीएलए) सम्पूर्ण लोकतन्त्रवादी कानुन व्यवसायीहरुको आस्था र धरोहरको प्रतीक हो । स्वतन्त्र र सक्षम न्यायपालिका स्थापित गर्न, एकतन्त्री एवं अधिनायकवादी विचार, व्यवस्था र प्रवृत्तिका विरुद्ध कानुन व्यवसायीहरुलाई संगठित गरी विधिको शासन तथा लोकतान्त्रिक प्रणालीको स्थापनामा प्रयत्नशील रहने उद्देश्य रहेको छ
यसै उद्देश्यका खातिर राष्ट्रियता, लोकतन्त्र, समाजवादका मूल्य मान्यता तथा प्रक्रिया एवं मानव अधिकार, कानुनको शासन र सामाजिक न्यायको सिद्धान्तप्रति प्रतिबद्ध कानुन व्यवसायीहरुको साझा प्रतिनिधि संस्थाको रुपमा २०४७ साल मंसिर ५ गते यसको स्थापना भएको हो । यस संस्थाको स्थापनापछि जीवन्तता दिने सम्बन्धमा धेरै कानुन व्यवसायी साथीहरुको रगत र पसिना बगेको छ । आज देशका सबै जिल्लाहरुमा र सम्पूर्ण अदालतहरुमा संगठित र सबल डीएलए एकाई रहनु गौरबको विषय हो ।
नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसनको विधान २०४७ को धारा १७(२८) मा यस एशोसिएसनको तर्फबाट नेपाल बार एशोसिएसनमा भाग लिने उम्मेदवार छनोट गर्न एक छनोट समिति गठन गरि उमेदवारहरु छनोट गरिने वैधानिक ब्यबस्था छ । सो व्यवस्थाका विपरित डीएलए नेपाल केन्द्रीय कार्यसमितिले गठन गरेको १३ सदस्यीय उम्मेदवार छनोट समितिलाई जबर्जस्ती गरि उम्मेदवार छनोट गर्न नै नदिई बाहिरबाट नै उमेदवार छनोट भए गरिनु दुर्भाग्यपूर्ण छ ।
नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमिति (०८१) को टिकट वितरण प्रक्रियालाई लिएर वास्तविकता बुझ्दै नबुझी डीएलए नेपाल र यसका पदाधिकारीहरु समेतलाई जोडेर नकारात्मक टिकाटिप्पणी गरिँदा संगठन र हामी स्वयम् लोकतन्त्रवादी कानुन व्यवसायी साथीहरु अन्यायमा पर्न सक्छौ ।
व्यक्ति गौण हो संगठन प्रमुख हो भन्ने कुरामा संवेदनशीलता अपनाउनु जरुरी छ । यस सम्बन्धमा डीएलए नेपाल केन्द्रीय कार्य समितिले कत्तिपनि विलम्ब नगरी आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने जरुरी छ । यस सम्बन्धमा मेरो आफ्नो व्यक्तिगत धारणा निम्नानुसार रहे भएको स्पष्ट पार्न चाहन्छु ।
– नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (डीएलएस) केन्द्रीय कार्यसमितिको बैठक अबिलम्ब बसोस्, जसले नेपाली कांग्रेसको विधानमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसनलाई शुभेच्छुक संस्थाको रुपमा राखिएको व्यवस्थालाई हटाई यसको स्वतन्त्र अस्तित्वलाई स्वीकार गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई अनुरोध गरोस्।
– नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसनको केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (डीएलए नेपाल)को स्वतन्त्र अस्तित्वमाथि गरेको हस्तक्षेपका विरुद्धमा ऐकबद्धता जाहेर गरी नैतिकतापूर्वक राजीनामा गरी पाँच महिना भित्र नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (डीएलए नेपाल) को राष्ट्रिय महाधिवेशनको मिति तय गरी नेतृत्व हस्तान्तरण गर्ने ।
– नेपाल बार एशोसिएसन केन्द्रीय कार्यसमितिको निर्वाचनमा उम्मेदवार हुन इच्छुक (मुख्यतः अध्यक्ष र महासचिव) डीएलए नेपालका सदस्य कानुन व्यवसायीहरुलाई देश भरका डीएलए नेपालका महाधिवेशन प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा निर्वाचन गरी उम्मेदवार छनोट गर्ने व्यवस्थाका लागि डीएलए नेपालको विधानमा आवश्यक संशोधन गर्ने ।
– आफ्नो निहित स्वार्थपूर्तीका लागि नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (डीएलए) नेपाल केन्द्रीय कार्यसमितिलाई थाहा जानकारीसम्म नदिई पार्टीपंक्तिमा संगठन कमजोर भएको कुरा पुर्याई संगठन उपर धावा बोली संगठनका उर्जाशील सदस्यहरुलाई उपेक्षा गर्ने व्यक्तिहरु (जसले हलो अड्काएर गोरु पिट्ने लोकोक्ति चरितार्थ पार्ने काम समेत गरे) तिनीहरुको पहिचान गरी आगामी राष्ट्रिय महाधिवेशनमा उनीहरुको संगठन विरोधी क्रियाकलापको भण्डाफोर गर्ने ।