काठमाडौँ । मुलुकका अदालतहरूमा मुद्दा फर्छ्यौट दर गत वर्षभन्दा सुधार भए पनि अझै १ लाख ६२ हजारभन्दा बढी मुद्दा थाती रहेका छन्। सर्वोच्च अदालतको आर्थिक वर्ष २०८०र८१ को प्रतिवेदनअनुसार, न्याय प्रणालीमा दर्ता हुने मुद्दाको संख्यामा निरन्तर वृद्धि भइरहेको छ, जसले न्याय सम्पादन प्रक्रियालाई थप दबाबमा पारेको छ।
गत आर्थिक वर्षमा देशभरका अदालत तथा न्यायाधिकरणमा २ लाख २८ हजार नयाँ मुद्दा थपिएका थिए। अघिल्लो आवबाट सरेका मुद्दासहित कुल ३ लाख ८८ हजार ३५७ मुद्दामध्ये ५८.२४ प्रतिशत (२ लाख २६ हजार १८५) मात्रै फर्छ्यौट हुन सकेका छन्। बाँकी १ लाख ६२ हजार १७५ मुद्दा भने अझै न्यायको पर्खाइमा छन्।
प्रतिवेदनअनुसार, गत वर्ष अघिल्लो वर्षको तुलनामा ११.३६ प्रतिशत बढी मुद्दा फर्छ्यौट गरिए पनि पुराना बक्यौता मुद्दा पूर्णरूपमा हटाउन सकिएको छैन। असार मसान्तसम्म पुराना मुद्दा २८.१३ प्रतिशतले घटेका छन्, तर न्याय सम्पादनको गति अझै पर्याप्त छैन।
विशेष गरी, सर्वोच्च अदालतमा कुल ६९ हजार ६७९ मुद्दामध्ये ३७.३७ प्रतिशत मात्र टुंगिएका छन्। उच्च अदालतहरूमा ८१ हजार २३९ मुद्दामध्ये ६८.९५ प्रतिशत फर्छ्यौट भएका छन् भने जिल्ला अदालतहरूमा २ लाख ६१ हजार ६७२ मुद्दामध्ये ५७.९५ प्रतिशत मात्र टुंगिएका छन्।
अन्य अदालत तथा न्यायाधिकरणहरूमा ४ हजार १९७ मुद्दामध्ये ७१.५७ प्रतिशत मुद्दा टुंगिए पनि, बाँकी १ हजार १९३ मुद्दा फर्छ्यौटको प्रतीक्षामा छन्।