काठमाडौं । काठमाडौं स्कुल अफ ल (केएसएल) का संस्थापक तथा कार्यकारी निर्देशक युवराज संग्रौलामाथि लागेको यौन दुर्व्यवहारको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै पूर्वविद्यार्थीहरूले कलेज प्रशासनले बनाएको छानबिन समिति अस्वीकार गरेका छन्। उनीहरूले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने तथा छानबिन समितिमा विद्यार्थीको प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन्।
कलेजले यस घटनाको छानबिनका लागि पूर्व जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको अध्यक्षतामा पत्रकार तीर्थ कोइराला र लैंगिक विभेद विज्ञ सीमा धामी सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। तर पूर्वविद्यार्थीहरूले यी तीनै जना संग्रौला निकट भएकाले समिति निष्पक्ष नहुने दाबी गरेका छन्।
करिब डेढ सय जना पूर्वविद्यार्थीहरूले सार्वजनिक वक्तव्य जारी गर्दै संग्रौलामाथि निष्पक्ष छानबिनको माग गरेका छन्। विभिन्न ब्याचका १४७ जना पूर्वविद्यार्थीहरूले छुट्टै समूह गठन गरी संग्रौलामाथि लागेको आरोपबारे प्रश्नावली तयार पारेर अनलाइन सर्वेक्षणसमेत गराएका थिए।
पूर्वविद्यार्थीहरूले भरेको अनलाइन फारममा १०४ जनाले आफ्नो परिचय खुलाएर संग्रौलामाथि छानबिन हुनुपर्ने धारणा राखेका थिए भने ४३ जनाले परिचय नखुलाई छानबिन हुनुपर्ने बताएका थिए।
यता संग्रौलाले आइतबार पत्रकार सम्मेलन गर्दै आफूमाथि लागेको आरोपको प्रतिवाद गरेका छन्। उनले झूटा आरोप लगाएर मानसिक यातना दिने काम भइरहेको दाबी गरेका छन्।
यस प्रकरणले केएसएलको भित्री प्रशासनिक प्रणाली, कलेजको नीति तथा विद्यार्थी सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ। पीडित पक्षले निष्पक्ष छानबिन समिति गठन गरी न्याय सुनिश्चित गर्न कलेज प्रशासन, कानुनी निकाय तथा नागरिक समाजसँग अपील गरेका छन्।
सम्बन्धित समाचारः
केएसएलका कार्यकारी निर्देशक युवराज संग्रौलामाथि यौन दुर्व्यवहारको आरोप, छानबिनका लागि समिति गठन