काठमाडौं । उद्योगी तथा पूर्व सांसद मोतिलाल दुगडले कर नरितेको भन्दै आयकर ऐन अनुसार कारवाही हुने सूचनासहित आन्तरिक राजस्व कार्यायले सार्वजनिक जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार तथा नेकपा एमालेका नेता मोतीलाल दुगडले कर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले कर तिर्न भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।
विराटनगरका उद्योगी दुगड पूर्वसांसद पनि हुन् । उनलाई केपी शर्मा ओलीले २०७७ सालमा विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । ओलीको पछिल्लो कार्यकालमा भने दुगडले कुनै जिम्मेवारी पाएका छैनन् ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले गत फागुन २० गते कर दाखिलाका लागि भन्दै १०१ व्यावसायीक फर्म र कम्पनीका नाममा १५ दिने सूचना जारी गरेको थियो । यसमा दुगडको एसिया केमिकल कम्पनी प्रालि विराटनगर १४, एसियन केम प्रालि विराटनगर १७ र विराटनगर २ मा रहेको ह्यारिसन प्यालेस प्रालिको पनि नाम समावेश छ ।
दुगड एसियन केमिकल कम्पनीको आयकर तिरिएको छैन । ह्यारिसन प्यालेस र एसियन केम प्रालिले मूल्य अभिवृद्धि कर नतिरेको कार्यालयले जनाएको छ । सूचना प्रकाशित भइसकेपछि ह्यारिसन प्यालेसको कर भने तिरिएको आन्तरिक राजस्व कार्यालय विराटनगरकाले जानकारी दिए ।
अन्य कम्पनीको भने दुई वर्षदेखि कर दाखिला भएको छैन । बुझाउन बाँकी रहेको करको विवरण भने खुलाउन नमिल्ने आन्तरिक राजस्वले जानकारी दिएको छ ।
उद्योगी मोतीलाल दुगडले कर तिर्न केही ढिलो हुँदा कार्यालयले सूचना निकालेको बताएका छन । दुगडको वटा कम्पनीको मात्रै बक्यौता बाँकी रहेको छ ।
‘ट्याक्सको पैसा हो, १–२ महिना मात्रै ढिलो भएको हो,’ उनले भने, ‘कहिले छिटो हुन्छ कहिले ढिलो हुन्छ, एउटा मिलिसक्यो, अर्कोको आधा गइसक्यो ।’
सामान्यतया चार महिनामा भ्याट बिलको हिसाब बुझाउनुपर्छ । दुगडको कम्पनीले दुई वर्षदेखि बुझाएको थिएन ।
भूमि कन्स्ट्रक्सन र भूमि इन्फ्रास्ट्रक्चरले पनि तिरेनन् कर
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अभिनाष बोहराले पनि कर तिरेका छैनन् । उनको भूमि कन्स्ट्रक्सन प्रालिले दुई वर्षदेखि मूल्य अभिवृद्धिकर र आयकर दाखिला नगरेको हो ।
भावेश बोहरा सञ्चालक रहेको भूमि इन्फ्रास्ट्रक्चरले पाँच वर्षदेखि मूल्यअभिवृद्धि कर र आयकर बुझाएको छैन ।
भूमि कन्स्ट्रक्सन र भूमि इन्फ्रास्ट्रक्चर निर्माण क्षेत्रका कम्पनी हुन् । यी दुई कम्पनीले ठेक्का लिएका आयोजनाहरू अधुरै छन् ।