काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयबारे चित्तबुझ्दो जवाफ नआएसम्म संसद् चल्न नदिने चेतावनी विपक्षी गठबन्धनले दिएको छ। बुधबार संसद् बैठक अवरुद्ध गर्दै संसद् बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै तत्काल स्पष्टीकरण दिन आग्रह गरेका छन्।
“प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म दुवै सदनको बैठक चल्न दिँदैनौं,” अध्यक्ष दाहालले भने, “हामीले स्पष्ट रूपमा भनेका छौं, प्रधानमन्त्री स्वयं रोष्ट्रममा आएर स्पष्टीकरण दिनुपर्छ। यदि स्पष्टीकरण चित्तबुझ्दो भयो भने तुरुन्तै संसद् सुचारु हुन्छ, तर जालझेलपूर्ण उत्तर आयो भने आन्दोलन अझै सशक्त बन्छ।”
कुलमान घिसिङको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा महत्त्वपूर्ण सुधार गरेको थियो। उनको बर्खास्तीलाई लिएर संसद् मात्र होइन, आम नागरिक तथा ऊर्जा क्षेत्रका विज्ञहरूले पनि प्रश्न उठाएका छन्।
प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षी गठबन्धनको अडान कायमै रहेको छ। सरकारको यस निर्णयका कारण उत्पन्न विवाद समाधानका लागि अबको रणनीति के हुने भन्ने चासो बढेको छ।
