काठमाडौं । काठमाडौं टावरमा काठमाडौं महानगर र सिंहदरबारबीच जुँगाको लगाई भइरहेको छ । नक्सापास नभएको भन्दै भत्काइदिने चेतावनी काठमाडौं महानगरका मेयर बालेन शाहले चेतावनी दिएका छन् ।
पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको विषय थप पेचिलो बन्दै गइरहेको छ । सरकारसँग टकराव बढिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले उक्त टावर नै भत्काइदिने योजना बनाएका छन् ।
मेयर शाहले भ्यूटावरमा भ्रष्टाचार भएको आरोप लगाउँदै भत्काउने तयारी गरेका हुन् । यसमा सरकारको पनि मिलेमतो रहेको आशंका उनले गरेका छन् ।
मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव साहले भ्यूटावर भत्काउन लागिएको बताए । यसलाई नभत्काएसम्म भित्री कुरा बाहिर नआउने भएकाले यो निर्णय लिइएको उनको भनाइ छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले अनियमित तवरबाट काठमाडौं टावरको नक्सापास गरिदिएको आरोप मेयर शाहले लगाएका थिए ।
सोही आरोपमा छानबिन गर्ने भन्दै उनले गुरागाईंलाई कार्यालय आउन दिएका छैनन्, तर आफैंले गठन गरेको छानबिन समितिले गुरागाईं निर्दोष रहेको निचोड निकालेपछि बालेनले प्रतिवेदन नै बुझ्न मानेनन् ।
त्यसपछि महानगरकै तीन विभागीय प्रमुखहरुलाई प्रतिवेदन लेख्न लगाएका थिए । उक्त प्रतिवेदनले पनि प्रशासकीय अधिकृतलाई भ्रष्टाचार आरोप लगाएको छैन । न काठमाडौं टावर भत्काउने सुझाव नै दिएको छ ।
स्वकीय सचिव साहले भने काठमाडौं टावरको विषयमा छानबिन गर्न बनाइएको समितिबाट आएको रायअनुसार नै अघि बढ्न खोजेको दाबी गरे ।
उनले भने, ‘सम्बन्धित जुन जुन विभागले राय पेश गरेको छ, त्यहीअनुसार नै काठमाडौं महानगरपालिका अघि बढ्न खोजेको हो । सरकार आफैं भ्रष्टाचार, लेनदेन र जनताको पैसामा खेलवाड गरिरहेको छ ।’
मेयर शाहलाई बुझाएको रायमा काठमाडौं टावर भत्काउनुपर्ने कुरा उल्लेख नभएको विषयमा प्रश्न गर्दा उनले स्पष्ट जवाफ दिएनन् । बरु उनले भ्रष्टाचारको पोल खोल्न नै टावर भत्काउनुपर्ने तर्क गरे ।
उनी भन्छन्, ‘नेपाल सरकारले आफूले गर्नुपर्ने दायित्व पूरा नगरेको अवस्थामा महानगरपालिकाले भ्यू टावर भत्काइसकेपछि मात्रै यसमा कसकसको सलंग्नता छ भन्ने पोल खुल्छ । त्यसको लागि महानगरपालिका अगाडि बढ्ने छलफल भएको छ । हामी भत्काउने तरखरमा छौं ।’
पीपीए मोडलको संरचना निर्माणको अध्ययन गर्न समिति बनेको र उक्त समितिले दिएको सुझावअनुसार अगाडि बढ्ने साहले बताए । समितिले टावरको बारेमा अध्ययन गरिरहेको र छिट्टै प्रतिवेदन आउने उनको भनाइ छ ।
उनी भन्छन्, ‘यसको पहिल्यैदेखि एउटा अध्ययन प्रक्रिया चलिरहेको छ । प्रकिया टुंगिनेबित्तिकै हामी अगाडि बढ्छौं । जहाँजहाँ छलफल हुनुपर्ने हो, त्यहाँत्यहाँ छलफल हुन्छ ।’