बुटवल । सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज भैरहवा कारागार चलान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, अदालतको अन्तिम फैसलासम्म लामिछाने भैरहवा कारागारमै रहनेछन्। उनलाई शुक्रबार राति काठमाडौंको बुढानिलकण्ठस्थित निवासबाट पक्राउ गरिएको थियो। भोलिपल्ट बिहान यति एयरलाइन्सको विमानबाट रुपन्देही ल्याई हिरासतमा राखिएको थियो।
सरकारी विदाका कारण दुई दिन हिरासतमा रहेका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देहीमा पेश गरी थुनुवा पुर्जी दिइएको हो।
गत शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। यसअघि जिल्ला अदालतले उनलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो, जुन उच्च अदालतले बदर गरेको हो।
उच्च अदालतको आदेशमा धरौटीको विकल्प नदिई थुनै उपयुक्त हुने ठहर गरिएको छ।