काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्तामा बोलाएको छ। यसअघि चैत २१ र २२ गते छलफल र परामर्शका लागि बोलाएको भए पनि शिक्षकहरूले अघिल्ला सम्झौता कार्यान्वयन नभएको भन्दै वार्ताबाट पन्छिएका थिए। अहिले पुनः चैत २७ गते बिहान ११ बजे मन्त्रालयमा वार्ताका लागि उपस्थित हुन अनुरोध गरिएको छ।
शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा वार्ता, संवाद र छलफलमार्फत समाधान खोज्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गरिएको छ।
सरकारको यस पहललाई शिक्षक समुदायले कसरी लिनेछ भन्ने चासो बढेको छ। विज्ञप्तिमा सबै तहका शिक्षक, सामुदायिक विद्यालय व्यवस्थापन समिति, शिक्षक महासङ्घ लगायत सरोकारवालाहरूलाई वार्तामा सहभागी हुन आग्रह गरिएको छ।
