काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुर, बुटवल इजलासको थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन्।
शुक्रबार उनकी पत्नी निकिता पौडेल, रास्वपाकी सहप्रवक्ता प्रतीभा रावल र कानुन व्यवसायी नारायण कँडेलमार्फत सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको हो।
सर्वोच्च अदालतका सूचना अधिकारी उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार निवेदन दर्ता भइसकेको छ र सो मुद्दाको पेशी आइतबारका लागि तोकिएको छ।
गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवलले जिल्ला अदालत रुपन्देहीको फैसला बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। हाल उनी थुनुवाका रूपमा रुपन्देही कारागारमा छन्।