न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ

काठमाडौं । पूर्वपत्नीबाट दायर गरिएको वैवाहिक बलात्कार मुद्दामा अभियुक्त न्यायाधीश भुवन गिरीलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

आइतबार न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै गिरीलाई सफाइ दिएको हो। गिरीमाथि सम्बन्ध विच्छेदपछि पूर्वपत्नीको सहमतिविनै शारीरिक सम्बन्ध राखेको अभियोगमा मुद्दा चलाइएको थियो।

जिल्ला अदालत काठमाडौंले २०८१ साल जेठमा गिरीलाई दोषी ठहर गर्दै सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। उक्त फैसलाविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए। उता, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भने सजाय कम भएको भन्दै उच्च अदालतमा छुट्टै रिट दायर गरेको थियो।

पुनरावेदन रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले आइतबार जिल्ला अदालतको फैसला बदर गर्दै गिरीलाई सफाइ दिएको हो।

जिल्ला अदालतबाट दोषी ठहरिएपछि गिरीले आफ्नो न्यायाधीश पदसमेत गुमाइसकेका थिए। त्यसपछि उनलाई काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिए पनि सर्वोच्च अदालतले २०८० चैत २१ गते उनलाई थुनामा राख्न आदेश दिएको थियो।

उच्च अदालतको पछिल्लो फैसलासँगै गिरी वैवाहिक बलात्कार मुद्दाबाट मुक्त भएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज