काठमाडौं । नेपाल नोटरी पब्लिक परिषद्ले देशभरका नोटरी पब्लिक र अनुवादकर्तालाई कानूनी दायरा बाहिर गएर नक्कली प्रमाणिकरण, लिखित प्रमाणीकरण र अनधिकृत अनुवाद नगर्न कडा चेतावनी दिएको छ।
परिषद्ले एक सूचना प्रकाशित गर्दै यस्ता कार्यहरू बढ्दो रूपमा भइरहेको र विभिन्न माध्यममार्फत गुनासो तथा सूचना स्वरूप प्राप्त भइरहेका जनाएको छ। परिषद्ले विशेषतः अनुमति प्राप्त केही नोटरी पब्लिक तथा अनुवादकर्ताले कानुनी प्रक्रिया विपरीत कार्य गर्दै आएको देखिएको भन्दै प्रमाणिकरण र अनुवाद कार्य गर्दा तोकिएको ढाँचा र विवरण पूर्णरूपमा समावेश नगरी अनाधिकृत रूपमा प्रक्रिया पुरा गरिएको पाइएको उल्लेख गरेको छ ।
परिषद्ले सूचनामार्फत स्पष्ट पारेको छ, “उल्लेखित कार्य गर्दा कानुन बमोजिम तोकिएको प्रक्रिया नअपनाएमा कानुनी कारबाही हुनेछ।” त्यसैले यस्ता गतिविधिहरू तत्काल रोक्न र विधि-सम्मत ढाँचामा मात्र सेवा दिन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
नेपाल नोटरी पब्लिक परिषद्का सचिव बाबुराम भट्टराईद्वारा हस्ताक्षरित सूचनामा सबै नोटरी पब्लिक तथा अनुवादकर्ताहरूलाई चेतावनी दिँदै, कानूनअनुसार जिम्मेवारी वहन गर्न आह्वान गरिएको छ।