गणेश थापामाथि फिफाको प्रतिबन्ध सकियो, फुटबलमा पुनः सक्रिय हुने संकेत

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले लगाएको १० वर्षे प्रतिबन्ध औपचारिक रूपमा समाप्त भएको छ। थापाले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबन्धको अवधि सकिएको जानकारी दिएका हुन्।

उनका अनुसार सन् २०१५ को अप्रिल १६ मा सुरु भएको प्रतिबन्ध सन् २०२५ को अप्रिल १५ मा आएर टुंगिएको हो। “माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु,” थापाले विज्ञप्तिमा उल्लेख गरेका छन्। “यो १० वर्षको यात्रा अत्यन्त चुनौतीपूर्ण रह्यो। तर, यस अवधिमा मेरो परिवार, साथीहरू, शुभचिन्तकहरू र सम्पूर्ण फुटबलप्रेमीहरूले दिएको साथ र समर्थनप्रति म आभारी छु।”

थापाले आगामी दिनमा पनि नेपाली फुटबलको समृद्धि र विस्तारका लागि आफू सधैं सहयोगी भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिबन्धको अन्त्यसँगै अब उनले फुटबलसम्बन्धी गतिविधिमा पुनः सक्रिय भूमिका खेल्न सक्नेछन्।

सम्बन्धित समाचार

ताजा न्यूज