काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न माग गर्दै दायर गरिएको रिट आज (आइतबार) सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ।
डा. भट्टको उमेरजन्य योग्यतालाई लिएर गरिएको कानुनी संशोधन कार्यान्वयन नगर्न मागसहितको मूल रिट र उनलाई गभर्नर नियुक्ति नगर्न माग गर्दै दायर गरिएको पुनरावेदन निवेदन न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिएको थियो।
आजको पेशी सूचीमा ४१ वटा मुद्दा रहेका थिए भने अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको उक्त रिट ४० औँ नम्बरमा परेको थियो।
सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मान्दै निवेदकहरूले डा. भट्टको शैक्षिक योग्यता गभर्नर पदका लागि पर्याप्त नभएको दाबी गर्दै शुक्रबार पूरक निवेदनसमेत दिएका थिए। तथापि, पेशीको क्रममा समय अभावका कारण आज सो मुद्दा हेर्न नसकिएको हो।