अब महालक्ष्मी नगरपालिकामा निजि स्कुल बसलाई ‘नो इन्ट्री’ !

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले निजि विद्यालयका स्कुल बस तथा सवारी साधनलाई नगर क्षेत्रभित्र प्रवेश गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ। २०८२ साल बैशाख ८ गते सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै नगरपालिकाले उक्त निर्णयको जानकारी दिएको हो।

नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित बालबालिकाहरूलाई निःशुल्क तथा गुणस्तरीय माध्यमिक शिक्षा प्रदान गर्न अभियान अघि बढाएको जनाउँदै, सो कार्यमा अवरोध पुग्ने कुनै पनि गतिविधिलाई निषेध गरिएको उल्लेख गरिएको छ।

सूचनामा उल्लेख भएअनुसार, शैक्षिक सत्र २०८२ देखि नगर क्षेत्रभित्र रहेका बालबालिकालाई निजि विद्यालयमा भर्ना गर्न नगरपालिकाले अनुमति नदिने निर्णय गरेको छ। साथै, निजि विद्यालयका स्कुल बसहरूलाई नगर क्षेत्रभित्र प्रवेश गर्न समेत रोक लगाइएको छ।

नगर प्रमुख ध्रुवराज रायद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “नगरपालिकाको सीमा क्षेत्रमा रहेका कुनै पनि निजि विद्यालयका स्कुल बस अर्थात् विद्यालयका सवारी साधनहरू नगर प्रवेशका लागि पूर्ण रूपमा रोक लगाइएको छ।”

शिक्षाको गुणस्तर सुधार गर्दै स्थानीय सरकारी विद्यालयहरूलाई सशक्त बनाउन गरिएको यो निर्णयले सामुदायिक विद्यालयप्रति विश्वास बढाउने अपेक्षा गरिएको छ। साथै, अभिभावक, विद्यालय सञ्चालक तथा सरोकारवाला सबैलाई यस विषयमा जानकारी गराउँदै सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज