काठमाडौं । अब कक्षा १२ का विद्यार्थीको परीक्षा वैशाख २१ गतेबाट सुरु हुने भएको छ। प्रारम्भमा चैत ११ गतेदेखि हुने भनिएको परीक्षा प्रधानमन्त्रीको निर्देशनपछि केही दिन पर सरेको हो।
राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साँझ बसेको आपतकालीन बैठकपछि परीक्षा सार्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले नयाँ मिति वैशाख २१ गते तय गरिएको जानकारी दिएका छन्। यद्यपि, संशोधित परीक्षा तालिका भने भोलि सार्वजनिक गरिने बोर्ड स्रोतले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री तथा परीक्षा बोर्डका पदाधिकारीहरूसँगको बालुवाटार बैठकमा परीक्षालाई केही दिन पछाडि सार्न सुझाव दिएका थिए। उक्त सुझावपछि बोर्डले नयाँ मिति तय गरेको हो।
पछिल्लो समय शिक्षकहरूको आन्दोलनले परीक्षाको वातावरण तनावग्रस्त बनेको थियो। त्यसैले सबै पक्षको सहमति अनुसार परीक्षा सारिएको हो।
यसअघि परीक्षा बोर्डले चैत ११ गतेबाट परीक्षा गराउने तयारी अन्तिम चरणमा पुर्याइसकेको थियो। तर पछिल्ला घटनाक्रमले परीक्षा तालिका परिवर्तन गर्न बाध्य बनाएको हो।
परीक्षाको नयाँ तालिका सार्वजनिक भएपछि बोर्डले त्यसअनुसार सबै विद्यालय र विद्यार्थीलाई सूचित गर्ने जनाएको छ।