सहकारी ठगी प्रकरणः कांग्रेस सांसद माया राई आफ्नै घरबाट पक्राउ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई सहकारी ठगीसम्बन्धी मुद्दामा आफ्नै निवासबाट पक्राउ परेकी छन्।

अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार काठमाडौंको कपनस्थित घरबाट उनलाई केहीबेरअघि पक्राउ गरिएको हो। राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा संलग्न रहेको आरोप छ।

स्वर्णलक्ष्मी सहकारीमा सञ्चालक समितिको सहसचिव रहेकी राईसहित पाँच जनालाई अघिल्लो पटक उन्मुक्ति दिइएको भन्दै आलोचना हुँदै आएको थियो। तर पछिल्लो अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधको कसुरमा उनीमाथि पक्राउ पुर्जी जारी गरेको थियो। लामो समय फरार रहेकी राई अन्ततः पक्राउ परेकी हुन्।

राईसहित अन्य व्यक्तिहरूमाथि ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको अभियोग लागेको छ। यसै मुद्दामा आइतबार मात्रै ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।

जनजाति कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य बनेकी राई पार्टी सभापति शेरबहादुर देउवा समूहकी निकट मानिन्छिन्। उनी समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सांसद बनेकी हुन्।

सम्बन्धित समाचार

ताजा न्यूज