माधब कुमार बस्नेत, अधिवक्ता
मैले वास्तविक सन्दर्भ नबताई “सरह” को अङ्ग्रेजी शब्द के होला भन्ने प्रश्न राखेको थिएँ। “Same” ले “सरह” भन्ने अर्थ नदेला भन्ने आशयको पोष्ट गरेको थिएँ। धेरै मित्र तथा मान्यजनहरूले आ-आफूले सकेको सहयोग गर्नुभएकोमा म साँच्चिकै फुलेल भएको छु। सबैप्रति आभारी छु।
आज त्यसको सन्दर्भ स्पष्ट पार्न चाहन्छु–
यो प्रसङ्ग नेपालको वर्तमान संविधानको एउटा व्यवस्थाको अङ्ग्रेजी अनुवादसँग सम्बन्धित छ। संविधान लागू भएपछि नेपाल कानून किताब व्यवस्था समितिले “किसिम किसिम” का अङ्ग्रेजी भाषाका प्रतिहरू प्रकाशित गरेको छ। तीमध्ये मसँग ३ किसिमका प्रति छन्। अरू प्रकार पनि छन् कि भन्ने मलाई थाहा छैन।
म भाषाको विद्यार्थी होइन। त्यसैले कुनै पनि भाषाको गहिरो विश्लेषण गर्ने क्षमता मसँग छैन। त्यसमाथि अङ्ग्रेजी त झन् मेरो सहज क्षेत्र नै होइन। अनिवार्य अङ्ग्रेजी विषय हुँदा पनि टाकन्टुकन गरेर पास गरेको थिएँ। अङ्ग्रेजी नजानेर चुलो नबल्ला भन्ने भावना कहिल्यै आएको छैन। अहिले त झन् आफ्नै मातृभाषाको असाध्यै माया लाग्छ। यी कारणले गर्दा अङ्ग्रेजी सिक्न न बाध्यता भयो न रहर।
कहिलेकाहीँ शब्दको अर्थ स्पष्ट नहुँदा अर्काे भाषाको सहाराले बुझ्न प्रयास गर्छु। यही सूत्र प्रयोग गरेर संविधानको धारा ११४ (२) को “उपधारा (1) बमोजिम जारी भएको अध्यादेश ऐन सरह मान्य हुनेछ” भन्ने व्यवस्थाको अर्थ बुझ्न खोज्दा नेपालको आधिकारिक अनुवादमा “An Ordinance promulgated under clause (1) shall have the same force and effect as an Act.” भनेर अनुवाद गरिएको रहेछ। तर यो अनुवाद मलाई चित्त बुझेन। विशेषगरी “सरह” को अनुवाद “the same…” भन्नु उचित नभएको लाग्यो। मेरो बुझाइमा हालको संविधानको अनुवादका विभिन्न स्थानहरूमा पनि यस्तै समस्या देखिन्छ।
यो सन्दर्भ प्रस्ट पारिसकेपछि सानो पृष्ठभूमि पनि उल्लेख गर्न चाहन्छु–
वि.सं. २००४ सालको संविधान नै अङ्ग्रेजीमा अनुवाद गरिएको पहिलो संविधान हो। त्यसपछि २००७, २०१५ र २०१९ सालका संविधानहरू पनि अनुवाद भएका छन्। विशेष रूपमा २०१९ सालको संविधानको अङ्ग्रेजी अनुवाद नेपाल कानून किताब व्यवस्था समितिले नै प्रकाशन गरेको हो। वि.सं. २०४७ सालको संविधान अनुवाद भने हरगोविन्दसिंह प्रधानलाई पारिश्रमिक दिने सम्झौतामा गरिएको थियो, तर दु:खद रूपमा उहाँलाई त्यो पारिश्रमिक दिइएन। उहाँले अनुवाद गरेको प्रति नै समितिले प्रकाशन गरेको हो। म यो तथ्य उल्लेख गर्नु उचित ठान्दछु ताकि उहाँको योगदान इतिहासमा दर्ज होस्।
व्यक्तिगत रूपमा पनि P. Neupane (नरेन्द्रबहादुर न्यौपाने, सर्वोच्च अदालतका पूर्व न्यायाधीश) ले वि.सं. २०१९ सालसम्मका संविधानहरू र पद्म शमशेरको वैधानिक भाषणसमेत अङ्ग्रेजीमा अनुवाद गर्नुभएको थियो, जुन ‘The Constitution and Constitutions of Nepal’ शीर्षकमा वि.सं. २०२५ सालमा प्रकाशित भएको थियो।
नेपालको संविधान नेपाली भाषामा बनाइएको र अङ्ग्रेजी अनुवाद गरिएको हो भने भारतीय संविधान भने मूल अङ्ग्रेजी भाषामा बनाइएको हो। भारतीय संविधानको धारा १२३(२) मा “An Ordinance promulgated under this article shall have the same force and effect as an Act of Parliament…” भनिएको छ। यसको नेपाली अनुवादमा पनि “त्यही बल अनि प्रभाव…” भन्ने गरिएको छ, जुन शाब्दिक अनुवाद हो र केही असजिलो महसुस हुन्छ।
तर नेपालको संविधान नेपाली भाषामा लेखिएको भएकाले “सरह” को अनुवाद गर्दा त्यति विस्तार गर्नु पर्ने हो कि भन्ने प्रश्न उठ्छ। मेरो बुझाइमा “सरह” को अङ्ग्रेजी अनुवाद “having the same status” वा “equivalent to” जस्ता सटीक शब्द प्रयोग गर्दा बढी मिल्दोजुल्दो हुने थियो जस्तो लाग्छ। “the same force and effect” भनेपछि नेपाली मूल भावभन्दा फरक पर्न सक्छ।
यस विषयमा मेरा विचार अन्तरिम छन्। जानकार विद्वानहरूले थप अध्ययन र छलफल गरेर निष्कर्ष निकालुन् भन्ने मेरो आग्रह छ।
मैले किन सन्दर्भ सुरुमै राखिनँ?
जब मैले “सरह” को अङ्ग्रेजी अनुवादबारे सार्वजनिक रूपमा प्रश्न गरेँ, त्यतिबेला सन्दर्भ दिइनँ। कारण थियो– यदि सन्दर्भ दिइएको भए धेरैले संविधान र भारतीय संविधान हेरेर मात्र जवाफ दिने थिए, स्वतन्त्र रूपमा सोचेर होइन। तर सन्दर्भ नराख्दा सबैले स्वतन्त्र रूपमा आफ्ना विचार राख्नुभयो, जसबाट नयाँ नयाँ दृष्टिकोण आएका छन्। यसबाट “सरह” को अङ्ग्रेजी अनुवादका सम्भावित शब्दहरू पनि जान्न पाइयो।