काठमाडौं । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।
डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।
राजश्व अनुसन्धान विभागले साउन ३ गते मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो । त्यसबेला झण्डै एक क्विन्टल सुन भन्सार जाँच पास पार गरेर बाहिरिएको भनिएपनि पछि जोख्दा ६० किलोमात्रै सुन भेटिएको थियो । सुन तस्करी प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध देखिएको थियो ।
सुन तस्करी प्रकरणमा सीआईबीले दावा, जीवनसहित २९ जनालाई प्रतिवादी बनाएर सुन भन्सार चोरी पैठारी र संगठित अपराध समेतको कसुरमा मुद्दा चलिरहेको छ । सरकारले सुन तस्करीको थप छानबिनका लागि पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्षतामा एउटा समिति समेत बनाएको थियो । समितिले चलाउनेलाई सीआईबीका प्रहरीले समातेर पनि छाडेको भन्दै सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्धय रुगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न समेत सिफारिस गरेको थियो ।