काठमाडौं । बुटवलस्थित सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा आफू संलग्न नरहेको भनी महान्यायाधिवक्ताको कार्यालयबाट ‘क्लिन चिट लिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पोखराको सूर्यदर्शन सहकारीबाट समेत ऋण लिएको भेटिएको छ ।
पोखरा महानगरले गठन गरेको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा सहकारीको बचत अपचलनमा लामिछानेको संलग्नता पुष्टि भएको पाइएको हो । महानगरले अनुसन्धानपछि तयार गरेको प्रतिवेदनमा लामिछाने आफैँले माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाण संलग्न गरिएको छ ।
पोखरामा रहेको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड हिनामिना भएको भन्दै गत वर्ष मुद्दा दायर गरेका थिए । तर मुद्दा दायर गर्दा लामिछानेको नाम प्रहरीले योजनाबद्ध रूपमा छुटाएको थियो । यसपछि पीडित बचतकर्ताले गत माघ २२ मा पूरक जाहेरी दिएका थिए ।
लामिछानेसहितका ‘शंकास्पद ऋणी’ ले सूर्यदर्शन सहकारीबाट अनियमित रूपमा कर्जा लिएको भन्दै सीआईबीले थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन बुझाएकाे छ ।
बचतकर्ताको जाहेरी पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यससम्बन्धमा छानविन गरेको थियो । छानविनका क्रममा रवी लामिछानेले सूर्यदर्शन सहकारीबाट रकम लिएको पाइएको थियो । लामिछानेसहितका ‘शंकास्पद ऋणी’ ले सूर्यदर्शन सहकारीबाट अनियमित रूपमा कर्जा लिएको भन्दै सीआईबीले थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । लामिछाने गृहमन्त्री भएपछि यो प्रतिवेदन लुकाइएको थियो ।
पोखरा महानगर र सीआईबी दुवैले गरेको अनुसन्धानमा सूर्यदर्शन सहकारीको बचत हिनामिनामा लामिछानेको संलग्नता कागजातबाटै पुष्टि भएको पाइको हो ।
अनुसन्धानकाक्रममा गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक भएका बेला सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ सारिएको तमसुक र लामिछाने स्वयंका नाममा खाता खोलेर सहकारीबाट एक करोड रुपैयाँ ऋण लिएको प्रमाण पनि छानबिन समितिले फेला पारेको छ ।
छानबिन समितिका विज्ञ सदस्य दीपकप्रकाश आचार्यका अनुसार छानविनकाक्रममा रवि लामिछानेले भरेको कर्जा फाराम र त्यसको आधारमा निकासा भएको एक करोड कुन मितिमा, कुन चेकबाट कुन खातामा पैसा गयो भन्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।