काठमाडौं । सत्तागठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर संलग्न दोषीमाथि कारबाही गर्न माग गरेको छ ।ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकले यस्तो माग गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकले विभिन्न व्यक्तिहरुबाट सहकारी संस्थाले अधिकारको दुरुपयोग भएको निष्र्कष निकालिएको बताउँदै यसमा संलग्नको छानविनका लागि समिति बनाउन माग गरिएको बताए । उनले भने, अहिले कतिपय सहकारी संस्थाले सर्वसाधारणको बचत अपचलन गरेर ठूलो धनराशी दुरुपयोग गरेको घटना सार्वजनिक भइरहेका छन् । यसमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । त्यसैले पार्टीको बैठकले समग्र समस्या समाधानका लागि छानविन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको हो ।