मानव बेचबिखन रोक्न काभ्रेभञ्ज्याङमा निगरानी

काभ्रेपलाञ्चोक । मानव बेचबिखनलाई रोकथाम गर्न माइती नेपालले बीपी राजमार्गअन्तर्गत पूर्वी पहाडी क्षेत्रबाट राजधानी प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काभ्रेभञ्ज्याङमा निगरानी बढाएको छ । उक्त स्थानमा संस्थाले सन् २०२३ को सुरुआतदेखि हालसम्म सवारीसाधनमा गरेको निगरानीका क्रममा सात सय ११ जना शङ्कास्पद किशोरी तथा महिलालाई सोधपुछ गरी परिवारको जिम्मा लगाएर फर्काएको जनाएको छ ।

उक्त राजमार्ग भएर परिवारको जानकारीबिना तथा विभिन्न बहानामा घरबाट सवारीसाधनमार्फत सङ्घीय राजधानीतर्फ लागेका ‘निगरानी’का क्रममा उक्त सङ्ख्यामा युवतीलाई परिवारको सम्पर्कमा फिर्ता गराइएको आज बनेपामा आयोजना गरिएको मानव बेचबिखनविरुद्ध होटल तथा यातायात व्यवसायीसँगको अन्तक्र्रिया कार्यक्रममा जानकारी दिइयो । यसमध्ये सन् २०२३ मा पाँच सय २२ र सन् २०२४ को बितेको चार महिनामा एक सय ८९ रहेका छन् । घर फिर्ता गरिएका युवती १२ वर्षदेखि २४ वर्ष उमेर समूहका रहेको कार्यक्रमको जिल्ला संयोजक गायत्री गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार फिर्ता गरिएकाहरू परिवारलाई जानकारी नगराई विभिन्न बहानामा घर छाडेर हिँडेका हुन् ।

यसअघि घर छाडेर हिँडेकामध्ये अधिकांश महिला मानव बेचबिखनमा परेको घटनाक्रमले देखाएको कार्यक्रममा बताइयो । उक्त संस्थाले आफ्नो कार्यक्रम सञ्चालनयता काभ्रेभञ्ज्याङ नाकामा सवारीसाधनमा निगरानी गर्नुका साथै चेतनामूलक हाते पुस्तिका वितरण गर्दै आएको छ । यस्तै संस्थाले विभिन्न सरोकारवाला निकायसँग मानव बेचबिखन न्यूनीकरणका लागि जिल्लामा अन्तक्र्रिया तथा विद्यार्थीस्तरमा सचेतनामूलक निबन्ध प्रतियोगिता कार्यक्रमसमेत गर्दै आएको छ ।

यसैगरी काभ्रेपलाञ्चोकको विभिन्न राजमार्गका नाकाबाट हुनसक्ने बेचबिखनको कार्य नियन्त्रणका लागि थप निगरानी बढाउने योजना रहेको गौतमले बताउनुभयो । उहाँका अनुसार हाल संस्थाले आफ्ना कमचारीमार्फत दैनिक बिहान ७ देखि बेलुका ६ बजेसम्म यातायातको अनुगमन गर्ने, अनुगमनका क्रममा शङ्का लागेका महिला तथा किशोरी बालबालिकालाई परामर्श दिने र यात्राको कारण सोधी परिवारलाई फोनमार्पmत जानकारी गराई पठाउने र परिवारको सल्लाहबमोजिम रोकी कार्यालयमा ल्याई प्रहरीको सहयोगमा परिवारमा बुझाउने गर्दै आइएको छ ।

बुधबारको कार्यक्रममा जिल्लास्थित मानवअधिकार सञ्जालका संयोजक भोजराज तिमल्सिनाले मानव बेचबिखन अवस्थाको जानकारी दिँदै पछिल्लो समय काभ्रेपलाञ्चोकको होटलमा बालिकालाई जबर्जस्ती करणी गराउने ‘यौन धन्दा’मा लागेको आरोप लगाउनुभयो । उहाँले चालु आर्थिक वर्षमा तीनवटा मानवबेचबिखनका घटना दर्ता भइसकेको तथा यसअघि जिल्लाबाट एक सय ८९ मिर्गौला बेचबिखन, आठ देहव्यापार तथा ३७ वटा मानव बेचबिखनमा घटना भएको जानकारी दिनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले मानव बेचबिखनसम्बन्धी अपराध रोकथामका लागि नेपाल प्रहरी सदैव विशेष रूपमा लागेको बताउँदै यसविरुद्ध सचेतनामा लागेको बताउनुभयो । कार्यक्रममा मानवअधिकारकर्मी, यातायात व्यवसायी तथा होटल व्यवसायीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज