सन् २००० को कुरा हो, पुणे विश्व विद्यालयमा एल एल एम गर्दै थिए, एकदिन खबर आयो कि हाम्रो कानुन विभागमा एक दिने राष्ट्रिय सेमिनार हुँदैछ अनि भारत का एक जना प्रतिष्ठित कानून व्यवसायी आउँदैछन् । हामीलाई भनियो की तिमीहरूलाई भेटघाटको अवसर पनि हुनेछ र छलफल पनि गर्न सकिने छ । उनीसँग बिचार आदान प्रदान गर्नु र आफूलाई लागेको कुरा सोध्नु भनेर हाम्रो विभागीय प्रमुखज्यूले भन्नुभयो । म कानुन व्यवसायीको परिवार भित्रको हुनाले कानून व्यवसायीसँग उहाँहरूको कुरो सुन्न रमाइलो लाग्थ्यो । यो मेरो पहिलो विदेशी वकिलसँगको भेटघाट थियो । अब ठूलै कानून व्यवसायीनै आउने भएपछि चिटिक्क परेर गइयो कार्यक्रम तयार गर्न तिर लागियो । कार्यक्रमका दिन ठूलो वकिल सानकासाथ आए ।
उनको प्रवचन पुरै सुनियो । बुबासँग घरमा कानूनी शिक्षा र व्यवसायीक ज्ञान नलिएको धेरै भैसकेको थियो । यी वकिलले एकातिर बुबाको याद दिलाए अर्कोतिर केही बौद्धिक र व्यावसायिक ज्ञानलाई बढाए । मलाई याद भएसम्म उनले खास गरि कानून व्यवसायीको धर्म भनेको न्यायका लागी कोही केस लडिदेउ भनेर आयो भने कानून व्यवसायीको मुद्दा लड्ने बाहेक अर्को धर्म हुने सक्दैन । किनकि कानून व्यवसायीले हेर्ने भनेको कानून नै हो । पक्षले मैले यो अपराध गरको हो, मेरो मुद्दा लडिदिनोस भन्दा त कानून व्यवसायीले मैले हेर्दिनँ भन्न मिल्दैन । पक्षले म निर्दोष छु, मैले अपराध गरेको छैन, मेरो न्यायको लागि लाडिदिनोस भन्दा, नलड्ने हुँदैन । त्यो आचार संहिता विरुद्ध हो । कानून व्यवसायीले मुद्दा लड्नु भनेको केही सारभूत र विश्वास गर्न सकिने प्रमाण बेगर, तिम्रो पक्षलाई अभियोग र दोषी लाग्छ भने सबैका लागि हुने गरि बनाइएको कानूनको दुरुपयोग हो । तिमीहरू कानून व्यवसायी हुने हो भने अहिले देखि नै आफ्नो आत्म विश्वासलाई अटल राख्नु पर्छ, निडर हुनुपर्छ र निरन्तर व्यवसायमा लागिराख्नु पर्छ । त्यो पनि निष्ठा र संकल्पले किनकि कानून व्यवसायी समाजमा सबै भन्दा बढी नरुचाउने पेशा हो ।
उनले आफ्नो मन्तव्यमा आफूले जीवन भरि फौजदारी न्याय, संविधान, मानव अधिकारका लागि लडेको इतिहास सुनाए र एउटा गज्जबको सन्देश दिएका रहेछन् । मलाई विद्यार्थीको तर्फबाट उनलाई सहयोग गर्ने जिम्मेवारी दिइएकोले झन् उनीसँग साक्षात्कार गर्ने मौका मिल्यो । मैले मेरो बुबा पनि एडभोकेट हुनुहुन्छ के भनेको थिएँ, बुढाले तानेर थप्थपाए र जाँदा जाँदै धाप मारेर मिस्टर नेपाली म तिम्रो देशमा चाडै आउँछु भने । कार्यक्रम सकियो अनि उनी गए । त्यसपछि उनको नाम त याद भएन तर उनका कुराले समय सन्दर्भ कहिले कँही याद दिलाइ रहन्थ्यो तर उनीको थिए, कहिले खोजिन ।
सन् २०२० को बैशाख को अन्तिम तिरबाट कोभिडले गर्दा लकडाउनका समय घरमै बस्नु पर्यो । घरमा धेरै बस्नु परेकोले एकदिन पुरानो दराज खोलेर हेरेको उसबेला पुना पढ्दाको एल्बम भेटे । पुराना फोटोहरू हेर्दै जाँदा माथि भनेको कार्यक्रमको तस्बिर रहेछ । त्यो मोटो मान्छे जसलाई मैले उसबेला भेटे, हामी विद्यार्थीहरूसँग बसेर खाना खाए, संविधान, कानून, न्याय, अपराध र कानून व्यवसायका कुरा गरे, एउटा मिठो याद र आत्मविश्वास दिएर गएका व्यक्ति को फोटो देखेसी म अचम्भित भए । एकछिन विश्वास गर्न गाह्रो भयो । ती व्यक्ति अरू कोही नभई राम जेठ मलानी पो रहेछन्। भारतका वरिष्ठ अधिवक्ता स्व. श्री राम जेठ मलानी । एल एल एम मा बौलाहा हुने गरि पढ्नु पर्ने पढाईले बिर्साएको महान कानून व्यवसायी पो रहेछन् । मैले उनलाई करिब २० वर्ष पछि पहिचान गरेको मानिस नेपाल आएकी आएनन् थाहा भएन तर २०१९ मा स्वर्गबास भैसकेका थिए । त्यति बेलासम्म आइपुग्दा मलाई राम जेठमलानीको बारेमा अलि बढी नै उत्सुकता किन लागिरहन्थ्यो भन्ने कहिले बुझिन । पेशामा आएपछि सुनेको नाम र विद्यार्थी हुँदा गरेको साक्षात्कार व्यक्ति एकै हुन् भन्ने कहिले मनमा आएन । तर जति जति पेशामा आइयो राम जेठमलानीको साहस र व्यवसायीक निडरता र आत्मविश्वासले लडेका हर्सद मेहेताको प्रतिरक्षा, हत्याका दोषी कानून व्यवसायी मनु शर्माको मुद्दा, के एम नानाभाँतिको मुद्दा, इन्दिरा गान्धीको हत्यारा सत्वंत सिघको मुद्दा र अस्ति भर्खरको आसाराम बापूको मुद्दाको याद आउँछ । पेशामा धेरै वर्ष संघर्ष गरेर स्थापित हुने कानून व्यवसायीहरुको जीवन नै व्यवसायको महाकाव्य हो भन्ने लाग्छ । त्यो महाकाव्यको सानो घतलाग्दो कुरा सुन्दा त व्यवसायमा यती सकारात्मक असर पर्दो रहेछ भने सम्मेलनको ३ दिनले युवा कानून व्यवसायीलाई हाम्रो व्यवसायका मुर्धन्य कानून व्यवसायीको थोरै समय मिलोस, जिन्दगी भर त्यसको प्रेरणा र गुण गाइरहन्छन, पेशाप्रति निष्ठा, लगाव, निरन्तरता र सक्षमता बढाई रहन्छ । म अहिले र सँधै राम जेठमलानी सम्झन्छु र ऊर्जावान् हुन्छु ।
हिजो देखि नेपाल बार एशोसिएसन को १६ औ राष्ट्रिय सम्मेलन चलिरहेको छ । सम्मेलनमा व्यवसायका महाकाव्य बोकेका व्यक्तिहरू हुनुहुन्छ । यस्तो मौका ३ वर्षमा एकपल्ट आउँछ । मेरो युवा कानुन व्यवसायी जो देशका विभिन्न भागबाट आउनु भएको छ उहाँहरूलाई के सुझाव हो भने यस्तो मूल्यवान अवसरको मज्जाले फाइदा लिनु पर्दछ। सेसनहरुमा जाने, कुरा सुन्ने, आफूलाई परिचय गराउने, मौका मिले आफ्नो कुरा राख्ने गर्दा अवसर मिल्यो भने गज्जब भो, नमिले चिनजान त हुन्छ । लगे रहो मुन्ना भाइ ।
(अधिवक्ता सरोज कृष्ण घिमिरेले भारत र बेलायतबाट २ वटा एल एल एम गरेका छन् । त्रि. वि. वि. कानुन संकाय मा उप प्राध्यापक घिमिरे सर्वोच्च अदालत बारका पूर्व कोषाध्यक्ष र हाल ल एसियाको कार्यकारी समितिका सदस्य हुन् ।)