काठमाडौं महानगरका १९ हजार विद्यार्थीले पाए २ अर्ब भन्दा बढिको छात्रवृत्ति 

काठमाडौं । शैक्षिक सत्र २०८१ मा काठमाडौँ महानगर क्षेत्रभित्रका निजी विद्यालयमा १९ हजार भन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएका छन । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल फेसबुकमा यो तथ्यांक सार्वजनिक गर्दै एउटा कानुन कार्यान्वयनले यो वर्ष यतिका धेरै विद्यार्थीले छात्रवृत्ति पाएको उल्लेख गरेका छन् । 

उनका अनुसार महानगरमा गत शैक्षिक सत्र २०८० मा  काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३ हजार भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको  विवरण बुझाएका थिए । शैक्षिक सत्र २०८१ मा बुधबारसम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको छ । ती विद्यालयमा १ लाख ४९ हजार ९५६ विद्यार्थी भर्ना भएका मध्ये १८ हजार ४२२ जनाले छात्रवृति पाएको मेयर शाहले उल्लेख गरेका छन्।  

उनले भनेका छन्, हामीले विद्यमान कानुनको कार्यान्वयन गर्दा मात्रै लक्षित बर्गका विद्यार्थीहरूलाई  करिब २ अर्ब बराबरको छात्रवृति उपलब्ध गराउन सफल भयौँ। प्राप्त भएको विवरणको हामी अनुगमन गर्नेछौ , फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ।  

यसैबीच हालसम्म छात्रावृत्तिको विवरण नबुझाउने विद्यालयलाई ३ दिनको समय दिई विवरण पेस गर्नका लागि सार्वजनिक सूचना प्रकाशन गरिएको पनि उनले बताएका छन्। ३ दिन भित्र विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने शाहले जनाएका छन् ।  

विद्यमान कानुनी प्रबन्ध कार्यान्वयन गर्दा गत वर्ष  १३ हजार र यस बर्ष करिब १९ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन् । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं, मेयर शाहले भनेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज