काठमाडौं । विशेष अदालतले लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर गरेको छ । बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २५ गते भट्टराईविरुद्ध ठेकेदारबाट कमिसन लिएर जग्गाजमिन जोडेको लगायतको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
भट्टराई कोषमा योजना प्रमुख भएको समयमा व्यापारी सफिक अहमदले १ अर्ब २२ करोडको ठेक्का पाएका थिए । उक्त ठेक्का मिलाइदिए बापत भट्टराईले तेस्रो व्यक्तिमार्फत ८० लाख रुपैयाँ लिएको अख्तियारको अभियोग पत्रमा थियो । घूस लिएको उक्त रकमबाट भट्टराईले आमा जनकनन्दनीका नाममा भक्तपुरको गुन्डुमा छुट्टाछुट्टै कित्ताका २ रोपनी ९ आना र २ आना १ पैसा जग्गा किनेको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ ।
अदालतले प्रतिवादी बनाइएकी आमा जनक नन्दनी भट्टराईलाई भने सफाइ दिएको छ । भट्टराईविरुद्धको सजाय निर्धारणका लागि ३१ गते पेशी तोकिएको छ ।