विराटनगर । सर्वोच्च अदालतले मंगलबार कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अजीज मुसलमानको इजलासले केदार कार्कीले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो ।
सर्वोच्चको यो फैसलासँगै हिक्मत कार्की नेतृत्वको एमाले माओवादी गठबन्धन सरकारले वैधता पाएको छ । ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार संविधानको धारा १६८ को ५ बमोजिम गठित सरकारलाई समर्थन गर्ने दल वा व्यक्तिले दिएको समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने सर्वोच्चले ठहर गरेको छ । तर तत्कालीन मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नु संविधान अनुसार नै भएको सर्वोच्चले ठहर गरेको छ । नयाँ सरकार गठन भई विश्वासको मतसमेत लिएकाले सर्वोच्चले निवर्तमान मुख्यमन्त्रीले दिएको रिट खारेज हुने फैसला गरेको हो ।