काठमाडौँ । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा यसअघिकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले तत्काल बोर्ड अध्यक्ष सिफारिसको प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । शुक्रबार बसेको न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले असार १८ मा जारी उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
सर्वाेच्चले साउन दोस्रो सातासम्मका लागि पुरानै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ । सर्वाेच्चको यो आदेशपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिने भएको छ ।
धितोपत्र ऐन ०६३ अनुसार धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अध्यक्ष छनोट सिफारिस समिति बनाएको थियो । बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये समितिले पहिलो चरणमा कृष्णबहादुर कार्की, नवराज अधिकारी, चिरञ्जीवी चापागाईं, सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ गरी पाँच जनालाई छनोट गरेर कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाएको थियो ।
राजनीतिक दलहरुवीच अध्यक्ष कसलाई बनाउने विषयमा सहमति हुन नसकेपछि छ महिना वितिसक्दा समेत छनोट सिफिारिस समितिले अध्यक्ष छान्न सकेको छैन ।