काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका बेचन झाले बारम्बार बयान दिन अस्वीकार गरिरहेका छन् ।
२ पटक जिल्ला सरकारी वकिलको कार्यालय लगिएका उनले बयान दिन मानेनन् ।
उनले आफू बिरामी भएको बताउँदै आएका छन् ।
झालाई १४ असारमा भारतबाट पक्राउ गरि नेपाल ल्याइएको थियो ।
झा माथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान जारी राखेको हो ।
उनी हिरासतमा बिरामी छन् । आफू अस्वास्थ्य रहेको बताएका झाले सरकारी वकिलको कार्यालयमा बयान दिन समेत अस्वीकार गरेका छन् ।
झा नक्कली भुटानी प्रकरणमा सर्वाधिक खोजिएका पात्रमध्ये थिए । उनले गृहमन्त्रालयसँग सेटिङ गर्ने काम गरेका थिए ।
उनको राजनीतिक कनेक्सन कांग्रेस नेता कृष्णप्रसाद सिटौला र आरजु देउवासम्म देखिएको उच्च प्रहरी अधिकृतहरू बताउँछन् ।
केही कांग्रेस नेतासँग उनले नक्कली भुटानी प्रकरणबारे च्याटिङ समेत भेटिएको छ । आर्थिक लेनदेनमा पनि उनी मुछिएका छन् ।
झासँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको बताइन्छ ।
झामाथि अनुसन्धान गर्न प्रहरीले दुईपटक म्याद लिइसकेको छ ।
बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ लगिएपनि उनले बयान दिएका छैनन् ।
झाविरुद्ध प्रहरीले किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराध गरी तीनवटा मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।
२०७९ चैतदेखि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सांसद टोपबहादुर रायमाझीदेखि बहालवाला सचिव टेकनारायण पाण्डे लगायत पक्राउ परेका थिए । माओवादी र रास्वपाका सासंदले भने बेचन पक्राउ परेपछि नै नयाँ राजनीतिक समीकरण बनेको दाबी गर्दै आएका छन् ।
झाबारे प्रहरी बोल्न मान्दैन । स्रोतका अनुसार झाबारे मिडियामा कुनै पनि कुरा नबोल्न प्रहरीलाई निर्देशन नै दिइएको छ ।