काठमाडौं । नेपाली काँग्रेससँगको नयाँ गठबन्धनबाट प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ११ बजेका पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत मागेका थिए । तर प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि प्रधानमन्त्री दाहाल पदमुक्त भएका थिए ।
राष्ट्रपति पौडेलले सोही दित दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए ।