लापरवाहीबाट अरुलाई हुने हानी नोक्सानीको सोधभर्ना लापरवाही गर्ने व्यक्तिले ब्यहोर्नु पर्ने अवधारणा दुष्कृति कानूनको प्रमुख हुन्छ । जबसम्म दुष्कृति कानूनको उचित प्रयोग हुँदैन तब त्यसको व्याख्या र कार्यान्वयन हुन्न र लापरवाही गर्नेहरूले अन्ततः उन्मुक्ति पाउन सक्छन् । हामीले दुष्कृतिको कानून त बनायौँ तर त्यो कानून टेकेर अदालतले क्षतिपूर्ति दिएको बिरलै देखिन्छ सुनिन्छ । क्षतिपूर्ति दिलाए भराएकोमा क्षति जति भएको छ त्यो खाम्ने मात्र ।
लाइबेक विरुद्ध म्याक्डोनाल्डको मुद्दामा ७९ वर्षीया महिलालाई तातो कफी खाने क्रममा पोखिएर निजको तिघ्रा पोलेको घटनामा अमेरिकाको अदालतले निजलाई चार लाख डलर भन्दा बढी जरिवाना गरेको धेरै भएको छैन । किनकि कफीको तापक्रम चाहिने भन्दा धेरै तातो भएकोले तेस्रो डिग्रीको जलन ठहर गर्दै अदालतले उपचार खर्च बाहेक हेलचेक्र्याइँमा जरिवानाको रकम लाखौँमा भरिदियो । हाम्रोमा अहिले पनि कफी सेलाएर खाको भए पोल्थेन भन्ने सोच हामी र हाम्रो अदालतमा रहेको देखिन्छ या भनम अदालत अझै पनि वास्तविक क्षति भन्दा पर गएको देखिन्न । बेलायतको एउटा मुद्दामा कुनै पार्कमा विषालु बेरी फलेको र बाहिर सूचनामा बेरी विषालु छ नखानु होला भनेकोमा २ जना बच्चाले खाएर मृत्यु बरण गर्दा बेलायतको अदालतले बच्चाहरूले सूचना पढ्दैनन् भनेको र लन्डन काउन्सिलले बाटो निर्माण कार्य चलिरहेको ठाउँमा पैदल यात्रीलाई यहाँबाट नहिँड्नु होला भनेर सूचना राखेकोमा एकजना दृष्टिविहीन खाल्डोमा खसी घाइते हुँदा क्षतिपूर्ति मागेकोमा अदालतले दुष्कृतिको कानून मार्फत दृष्टिविहीनले सूचना पढ्न सक्दैनन् भनेर दिएको क्षतिपूर्ति गज्जबको उदाहरण हो ।
तर हाम्रोमा दिनहुँ लापरबाहीले हुने घटनाहरूमा न त उपचार माग्न सकिन्छ भन्ने जानकारी छ, न उपचार दिने प्रचलन नै छ । केही दुर्घटनामा लागेजति उपचार खर्च दिने गरिए पनि अन्य क्षतिपूर्ति दिने चलन छैन । लापरबाही हाम्रो जीवन पद्धति जस्तै भैसकेको छ तर उचित उपचार भने छैन । तर दिनहुँ हरेक घटनाहरू देखिन्छ जहाँ सडकमा रहेको खाल्डोको कारण होस् या दुर्घटनाग्रस्त क्षेत्रमा सावधानी नअपनाएको कारण बर्सेनी हजारौं मानिस अरुको लापरवाहीको कारण ज्यान गुमाएको देखिन्छ तर त्यसको उपचार पाउँदैनन् ।
आजकाल जुन पेशामा नजिकबाट हेरेपनि दुष्कृतिहरु प्रशस्त देखिन्छन । तर ति दुष्कृतिको विरुद्धमा उपचारको उचित प्रबन्ध देखिंदैन । क्षति एकिन गरेर क्षति माग्नु पर्ने हाम्रो व्यबस्थामा अरुको हेलचेक्याईंबाट हुने मानसिक, सामाजिक क्षतिको न त मूल्यांकन गरिन्छ न त समय सापेक्ष क्षतिपूर्ति प्रदान गरिन्छ । जसका कारण लापरवाही गर्ने व्यक्ति पनि जति नोक्सानी देखिन्छ त्यती नै व्यहोर्नु पर्ने हो व्यहोरेको खण्डमा पनि भन्ने सोच्दछन् ।
घटना सन् २०१३ को हो । सयम अहिलेको जस्तै वर्षायम थियो । मनहरा पुल काटेर कोटेश्वर जाँदै थिएँ । गुडिरहेको ट्रकले छेउमा आएर छोइदियो । गाडीको आगाडीको ढोका मज्जाले कुच्चियो । दुर्घटनाबाट ज्यान त जोगियो तर गाडीमा क्षति भयो । यसपछि कोटेश्वरको चौकीमा ट्रकसँग सम्बन्धित यातायात युनियनका मानिस आएर मसँग १८/२० हजारमा डेण्टिङ्ग पेण्टिङ्ग भैहाल्छ सर ठुलो कुरो रहेनछ ट्रकलाई छोडिदिउँ भने । उक्त दुर्घटनामा आफु मर्दा मार्दै बाँचेको छु । घटनाको बारेमा घरमा केहि भन्न सकेको थिइन । एकदम झोक चल्यो । अनि मैले ती मानिसलाई भन तपाईंको दुइटा बंगारा झारिदिन्छु अनि ६ सय रुपैयाँ दिन्छु हुन्छ ? एकछिन ती मानिस चुप लागे अनि अलि झोक्किंदै भने के भन्नु भाएको तपाईंले? मैले भने मुलुकी ऐन भन्ने सुन्नु भाएको छ ? उनले सुनेको छु भने । मैले सुन्नु भाएको भए मुलुकी ऐनमा एउटा दाँत झारेको क्षतिपूर्ति ३ सय रुपैयाँ छ म तपाईंलाईं ६ सय दिन्छु र २ वटा दाँत झारी दिन्छु हुन्छ? एकछिन ती मानिस चुप चाप बसे । अनि मैले भनें, मेरो गाडीको ढोका कुच्याएको २० हजार, अब यो दुर्घटनाले गर्दा गाडीको बिक्रि मूल्य घट्छ, त्यस बापतको १ लाख ५० हजार, मेरो मानसिक पीडाको मूल्य ३ लाख ५० हजार अनि गाडी बनाउने समयसम्म यातायात खर्च ३० हजार चाहिन्छ । मैले यो के भनेको थिएँ, ती मानिस टाउकोमा दुई हात राखेर थ्याच्च बसे । अनि भने, मैले यस्तो माग त अहिले सम्म सुनेको थिइन । मैले जवाफमा भने सायद अहिलेसम्म तपाईंको गाडीले वकिलको गाडीलाई हानेको थिएन । तर मलाइ के थाहाथ्यो र आजसम्म नि व्यबहारिक रुपमा कायम छ भने मैले पाउने क्षतिपूर्ति भनेको डेण्टिङ्ग पेण्टिङ्गको त्यहि १८।२० हजार मात्र हो । मैले त्यसैमा चित्त बुझाए । गाडीको ढोका बनाए ।
कुरो म्यानमारको मैले सन् २००७ मा अन्तर्राष्ट्रिय बौद्धिक संस्था र म्यानमारको उद्योग मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वौद्धिक सम्पति सम्बन्धी ७ दिने कार्यशाला गोष्ठीको लागि निमन्त्रणा पाएँ । म्यानमारको राजधानी नेपीतमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब १५ देशका कानून व्यवसायी, सरकारी वकिल, न्ययकर्मी, प्राध्यापक, मन्त्रालयका विज्ञ तथा अनुसन्धानकर्ताहरुलाई निमन्त्रणा गरिएको रहेछ । कार्यक्रममा सहभागिका लागि ने पी त स्थित अन्तर्राष्ट्रियस्तरको होटल केम्सिंकीमा हामीलाई राखिएको थियो । होटलमा इन्ट्री गर्नका लागि सबैले पासपोर्ट बुझाउनु पर्ने । होटलवालाले पासपोर्टको फोटोकपी गर्दै गर्दा फिर्ता दिने क्रममा मेरो पासपोर्टको बारकोड भएको पाना च्यातियो ।
भयो त अब, पासपोर्ट त काम लागेन । त्यो पासपोर्टबाट नेपाल फर्किन मिल्दैन । टेन्सन भो । के गर्ने ? कसो गर्ने ? रिस पनि उठ्यो अनि म्यानेजरलाई बोलाउन लगाएँ । पासपोर्ट होटेलको जिम्मामा छोडे । भोलिपल्ट विहान म्यानेजरसँग भेट भयो । मैले केहि भन्न नपाउँदै म्यानेजरले भने, सर हामीलाई दुःख छ तपाईंको पासपोर्ट हाम्रो लापरवाहीले च्यातियो । यस बापत तपाईंलाई पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । सरको पासपोर्ट नयाँ बनाउन जे गर्नु पर्छ हामी नेपालको एम्बेसीसँग सम्पर्क गरेर गर्छाैं । हामीले बुझेसम्म सर हाम्रो होटेलमा ८ दिन बस्दै हुनुहुँदो रहेछ, त्यतिबेला सम्म हामी केहि गर्छाैं । आफ्नो लापरबाहीलाई पूर्ण व्यावसायिक तरिकाले स्वीकार गरे पछि म केहि हदसम्म शान्त भएँ । पासपोर्टको व्यवस्था होटलेले मिलाउँछ भने पछि केही ढुक्क भएँ । नेपालको एम्बेसी रंगुनमा रहेछ । होटेलले आफ्नै कर्मचारी खटाएर रंगुन पुर्यायो । त्यहाँ मलाई एकतर्फी नेपाल फर्किने यात्रापत्र दियो । अनि भन्यो सर तपाईंको पासपोर्ट काम लाग्ने भएन तर नेपाल फर्किन ट्राभल डकुमेन्ट बनाइ दिएका छौं । अनि नेपालमा तपाईंको नयाँ पासपोर्ट बनाउँदाको खर्च यहि होटेलले व्यहोर्ने छ । तपाईको बसाइसम्म तपाई हाम्रो होटेलको प्राथमिकताको अतिथि हुनु हुनेछ । होटेलमा के आवश्यक पर्छ भन्नु होला । हामी सुबिधा दिन तयार छौं । हाम्रो लापरबाहीको जिम्मा हामी लिन्छौं ।
होटेलले आफ्नो लापरबाहीलाई स्वीकारेर दिएको आतिथ्यता गज्जबको थियो । ८ दिन सम्म म्यानेजरले मलाई देख्न साथ सोधपुछ गरिहाल्थे र मलाई कुनै टेन्सन छ कि छैन सोधिरहन्थे । मेरो कागजातको प्रक्रियाका बारेमा सुचित गरि रहन्थ्यो । दोस्रो दिन होटेलको बारेमा बुझ्न मन लाग्यो । किन कि यो होटेल असाधारण थियो । यस्तो होटेलमा म पहिले कहिल्यै बसेको थिइन । होटेलको बारेमा गुगल गरेर हेरें । अनि थाहा भयो एउटा अन्तर्रास्ट्रियस्तरमा सुपरिचित होटेल रहेछ । हेर्दै गएँ, एउटा समाचारले मेरो ध्यान तान्यो । वाउ यो होटेलको एउटा सुइट रुममा बाराक ओबामा बसेका रहेछन् । जुन सुइटको नाम नै बाराक ओबामा सुइट राखिएको रहेछ ।
ओबामा सुइटमा मेरो एक दिन
सन् २०१७ मा म्यान्मारले आयोजना गरेको आसिएयान सम्मेलन र पूर्वी एसिया सम्मेलनका लागि बाराक ओबामा म्यान्मार आएको बेला यही होटेलमा बसेको थाहा भयो । भोलिपल्ट बिहान कुदेर होटेलको रिसेप्सनमा गएँ र सोधें अनि एकिन गरें । अब मलाई म्यानेजरसँग भेट्नुथ्यो । किनकि मलाई ओबामा बसेको सुइटमा जानु थियो । अनि हेर्नु थियो । मलाई होटेलले दिने क्षतिपूर्ती केबल बास्तबिक खर्चको थियो । पासपोर्ट च्यातिएर भएको मानसिक पीडाको उपचार थिएन । मलाई लाग्यो मानसिक उपचार बाराक ओबामाको सुइटले दिन्छ ।
अर्को दिन कार्यशाला थिएन । विदा थियो । अनि बेलुका म्यान्मारका उद्योग मन्त्रीसँग रात्रि भोज थ्यो । त्यसैले मैले भोलिको दिन मज्जाले बिताउनु थियो । साँझ मै म्यानेजरलाई भेटें । त्यति बेलासम्म मैले त्यस होटलमा बाराक ओबामाको बसाई बारे मज्जाले बुझी सकेको थिएँ । खास गरि त्यो सुइट अरु देशका राष्ट्र प्रमुखहरु आउँदा बस्ने गरि बनाइएको रहेछ । मलाई एकदिन राष्ट्रपतिको अनुभव गर्ने मन भयो ।
म्यानेजरलाई भेट्ना साथ मैले भने पसपोर्टले मलाई धेरै मानसिक तनाब दिएको छ । मलाई थाहा छ तपाईहरु काम गर्दै हुनुहुन्छ तर मेरो लागि एउटा व्यवस्था गर्नु भयो भने मेरो मानसिक पीडा सकिन्छ । मैले तपाईहरुको लापरबाही बापतको उपचार पाएको महसुस हुन्छ । ती म्यानेजर एकछिन अक्ममक्काए र भने भन्नुन्स सर हामि के सेवा गर्न सक्छौ ? मैले न अक्मक्काइ भने मलाई बाराक ओबामा सुइटमा केहि समय बिताउनु छ । उनि एकछिन अकमक्क परे अनि भने, मैले निर्णय गर्न सक्दिन । किनकी यो सुइट अहिले बन्द छ । माथिल्लो निकायमा सोध्नु पर्छ । मैले उनलाई भने सोध्नुस, तर हुन्न भनेर नफर्किनुस् । माथिबाट सोधपुछ भयो भने कानून व्यवसायी रहेछन्, हाम्रो गल्तिको मानसिक पीडाको सोधभर्ना यसैबाट हुन्छ भनेका छन् भन्नुस् भने । म्यानेजर त्याहाँबाट गए । एकछिन पछि उनी फर्किए । अनि भने सर भोलि १० बजे तपाईंलाई भित्र लगेर देखाउँला । तपाईं त्यहाँ केहि समय बिताउन सक्नु हुन्छ । मैले भने म पौडी खेल्छु अनि साउना पनि गर्छु । उनले भने, हुन्छ ।
भोलिपल्ट विहान १० बजे म्यानेजरले सुरक्षा गार्डसँग सुइटको ताला मागे र ढोका खोले । अनि सुरक्षा गार्डलाई कसैलाई पनि भित्र नापठाउन निर्देशन दिए । हामी दुई (म्यानेजर र म) सुइट भित्र छिर्याैं । होटेलको केही पर कुनाको ढोका खोलेर भित्र गएको भित्र अपत्यारिलो अलग्गै संसार रहेछ । म्यनेजारले एक एक गरि त्यहाँको वस्तुस्थितीका बारेमा बताए अनि व्याख्या गर्दै भित्र लगे । त्यो सुइट पुरै बुलेट प्रुफ शिसाले कम्पाउण्ड घेरिएको रहेछ । त्यहाँ ओबामाको लागि बनाइएको ठूलो मिटिङ्ग हल, अलि सानो व्यक्तिगत मिटिङ्ग हल, लाइब्रेरी, ओबामाको अध्ययन कक्ष, सुरक्षा गार्ड बस्ने २ वटा कोठा, पारिवारिक कोठा, भान्छा, बार, बाहिर साउना, स्विमिङ्ग पूल, अनि ओबामाको सुत्ने कोठा रहेछ । मलाई भनिए अनुसार ओबामा ३ दिन यो सुइटमा बसेका रहेछन् । यो सुइट ओबामाकै लागि विशेष प्रबन्ध गरेर तयार गरिएको रहेछ । मेरो मन थाम्न सकेन, ओबामाको पलंगमा गएर पल्टिए उनको सोफामा मस्तले बसें । उनले अध्ययन गरेको कुर्सिमा बसेर एकछिन पढें । कुना कुना हेरें । डाइनिङ्ग हलमा मेरो लागि कफी र कुकिज तयार रहेछ । अब एकछिन त पौडी खेल्नु थियो अनि साउना लिनु थियो । आफुलाई राष्ट्रपति भएको महसुस गर्नु थियो । महसुस गर्न केहि बाँकि राखिन । अनि जीवनभर नबिर्सिने एउटा अविष्मरणिय समय बाराक ओबामाको सुइटमा बिताए । अनि छाती फुलाएर बाहिर निस्किए । लापरवाहीको सोधभर्ना सेवाले पनि हुन्छ भन्ने कुरा स्थापित गरेर छोडें ।
म दिनभरी हराएकोले यता होटेलमा मेरो सोधीखोजी भएको रहेछ । तर सबलाई के थाहा म केहि समयलाई राष्ट्रपतिको महसुस गर्दै थिएँ । ओबामा सुइटमा मज्जा लिदै थिएँ । बेलुका पार्टीमा सब सहभागीलाई ओबामा सुइट र मेरो त्याहाँको अनुभव बेलिबिस्तार लगाएँ । सब दङ्ग परे । तर अफसोच उनीहरु कसैलाई पनि त्यो ओबामा सुइट हेर्न दिइएन । मैले मात्र सुइट भित्र मज्जा लिएँ ।
हेलचेक्याईंबाट कोहिले पनि उन्मुक्त पाउन सक्दैन । हाम्रो व्यवसायमा पनि हामीले धेरै हेलचेक्याईं गरेको भेटिन्छ । खास गरी पक्षको मुद्दा मामिलाको बिषयमा । जसका कारण पक्षलाई नोक्सानी भएको हुन्छ । कानून व्यवसायीको लापरबाहीको दायित्व स्थापित हुन कानून व्यवसायी र पक्षको सम्बन्ध स्थापित हुनु पर्दछ । कानून व्यवसाय गर्ने व्यक्ति प्रमाण पत्र पाएको दिनबाट अदालतको नजरमा विद्वान र पक्षको नजरमा बिज्ञ हुन्छ । बिज्ञको दायित्व पक्षको कानूनी विबादका बिषयमा शिप, कला र पूर्ण दक्षताले सेवा दिन सक्ने व्यवसायीको हिसाबले हेरिन्छ । पक्षको बिबादित बिषय कानून व्यवसायीका लागि ज्ञान लिने, सिप बढाउने प्रयोगशाला हुन सक्दैन । कानून व्यवसायी चाहे व्यवसायीक शुल्क लिएर होस्, चाहे निःशुल्क सेवा होस्, उसले पक्ष प्रति निर्बाह गर्ने दायित्व कम हुँदैन लापरवाही त सोच्नै सकिन्न । कानून व्यवसायीले पक्षको मुद्दा लिइसकेपछि त्यसलाई पार नलागे बिचैमा छोड्नु कानून व्यवसायीको लापरबाही हो भन्ने मानिन्छ युरोप अमेरिका तिर ।
हुन त कानून व्यवसायी पक्षको बिषयमा न बिमकको, न यही हुन्छ भनि यकिन गर्ने ग्यारेन्टर, अथवा यही फैसला आउँछ भन्ने अन्तर्यामी हुन्छ । तर दायित्व कायम हुँदा आफ्नो दक्षता, विज्ञता र ज्ञानको उचित र पक्षलाई फाइदा हुने गरि गर्याे गरेन भन्ने हो । कानुन व्यवसायीले लापरवाहीपूर्ण तरिकाले वास्तबिकताको अध्ययन नगरी दिएको रायबाट पक्षको करोडौं लगानीको नोक्सानी भएको, खराब कानूनी सेवा दिएको पक्षको मुद्दा गर्ने हदम्याद कानून व्यवसायीका कारण गुज्रेको, करारका शर्तहरुलाई राम्रोसँग राख्न नसकेकोले व्यक्तिले वा राज्यले क्षतिपूर्ति पाउन नसकेको, मुद्दामा गलत कानूनको प्रयोगले मुद्दा हारेको, गलत सल्लाह दिएको, अधिकारक्षेत्र लगायत प्रयोग गरेकोले मुद्दा हारेको कानून व्यवसायीको कारण पक्षले जेल सजाय भुक्तान गर्नु परेको, पक्षलाई आर्थिक नोक्सानीबाट बचाउन चुकेको, पक्षको प्रमाण गोपनियता राख्न नसकेकोले पक्षलाई परेको नोक्सानी लगायतका धेरै उदाहरणहरु यहाँ पाइन्छ । यस्ता विषयमा कानून व्यवसायीको लापरबाहीले पक्षलाई गम्भीर असर पुग्ने र कानून व्यवसायीले क्षतिपूर्ति तिर्ने सामान्य प्रचलन र दायित्व हुन्छ युरोप अमेरिका तिर तर हाम्रोमा ……? त्यसैले ति देशहरुमा कानून व्यवसायीहरुले व्यवसायीक हेलचेक्याँईंबाट बच्न व्यवसायीक बिमा गरेका हुन्छन् । कानून व्यवसायीको हेलचेक्याईंबाट पक्षलाई वा तेस्रो पक्षलाई नोक्सानी भयो भने बिमा कम्पनिले क्षतिपूर्ति दिन्छ । बेलायतको हकमा त यो बाध्यकारी हो । हाम्रो सन्दर्भमा कानून व्यवसायीले आफ्नो गल्ति स्वीकार गर्ने हिम्मत गर्दैनन्, क्षतिपूर्तिको कुरा त परै जाओस् । यहाँ सिधा सिधा गल्ति हुँदा पनि उक्त गल्तिले पक्षलाई हुने क्षतिको पूर्ति गरिन्न । जहिलेसम्म कानून व्यवसायीको लापरवाहीको दायित्व कानून व्यवसायीलाई दिइन्न त्यतिवेल सम्म कानून व्यवसायीमा आशा लाग्दो सुधार आउँदैन ।
कुरा सन् २००८ को हो । लन्डनमा मैले केहि समय काम गरेको ल फर्ममा सिनियर पार्टनरको मुद्दा लेखनमा गम्भीर त्रुटी भएकोले पक्षले मुद्दा जित्न सकेन । माननीय न्यायाधीशले कानून व्यवसायीले निबेदनमा माग्न नसकेको (छुटाएको) कारण तपाईंको मागलाई पुरा गर्न सकिन्न भनेपछि पक्षले मागेको क्षतिपूर्तिको रकम बिमाले तिरेको घटना मेरो आँखाले देखेको छ । त्यो घटनाले मैले फेरी हाम्रो व्यवसाय तिर फर्केर हेरें अनि सम्झे हाम्रा कति गल्ति, लापरबाही, पूर्व तयारिको कमि, तथ्यको गलत प्रस्तुति, अघिल्लो कानून व्यवसायीको बहस सुनेर बहस गर्ने प्रवृति, अदालतलाई गुमराह गर्ने प्रस्तुति अनि कति कति कारणबाट पक्षलाई पर्ने मर्का र क्षतिबाट कोहि कानून व्यवसायीले क्षतिपूर्ति तिरेको छ ? मलाई त थाहा भएन । न मैले तिरेको छु । न कसैले तिरेको देखेको छु । क्या मज्जाको व्यवसाय हाम्रोमा । किनकि हाम्रोमा कानून व्यवसायीले गल्ति गर्दैनन्, गल्ति त पक्षको मात्र हुन्छ भन्ने मानिएको देखिन्छ । हेरौं दुष्कृतिको कानूनको कार्यान्वयन कानून व्यवसायी माथि कहिले लागू हुन्छ ।