६ करोड ६९ लाख बक्यौता नतिरेपछि ऊर्जामन्त्री खड्काको कम्पनीविरुद्ध मुद्दा 

काठमाडौँ । नेपाल स्काउटसँग लिज सम्झौता गरी लिएको जग्गा तथा भवनको ६ करोड ६९ लाख २७ हजार ८९१ रुपैयाँ बक्यौता नतिरेपछि ऊर्जामन्त्री दीपक खड्काको कम्पनी स्कटल्यान्ड डेभलपमेन्ट प्रालिविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । बहाल रकम दिलाइ घरजग्गाबाट निष्कासन गरेर खाली गराइदिने’ मागसहित नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको अख्तियार प्राप्त कानुनी सल्लाहकार अधिवक्ता डा. मुकुन्द अधिकारीकी वारेस सविना देसारले स्कटल्यान्ड डेभलपमेन्टलाई विपक्षी बनाएर गत २४ असारमा काठमाडौँ जिल्ला अदालतमा फिराद– पत्र (मुद्दा) दायर गरेकी हुन् । 

खड्का मुख्य सञ्चालक रहेको खड्काल्यान्डले स्काउटको लामाचौरस्थित जग्गामा ०६५ देखि भाडामा लिएको तीन रोपनी जग्गा र ०७३ देखि भाडामा लिएको दुई व्यापारिक भवनको लामो समयदेखि बक्यौता चुक्ता गरेका छैनन् । परिवारका सदस्यका नाममा हस्तान्तरण गरी हाल उनी कम्पनीबाट बाहिरिएका छन् । पटक–पटकको ताकेता नमानेको र अदालतको फैसला पनि कार्यान्वयन नगरेपछि बक्यौता असुलीका लागि मुद्दा दायर गर्न बाध्य भएको स्काउटले जनाएको छ ।

‘विपक्षी खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले ०८० चैत मसान्तसम्म भाडा रकम ६ करोड ६९ लाख २७ हजार ८९१ रुपैयाँ यस फिरादी संस्थालाई तिर्न बुझाउन बाँकी रहेको हुँदा मुलुकी देवानी संहिता, २०७४ को दफा ३९० क  ३९१ बमोजिम भुक्तानी नगरेको हुँदा सम्पूर्ण बहाल रकम र सो बहाल रकमको भरिभराउ हुँदा सम्मको हर्जाना तथा सोमा लाग्ने ब्याजसमेत दिलाई विपक्षीलाई बहालमा रहेको जग्गा तथा भवन संरचनाबाट समेत निष्कासन गरी न्याय इन्साफ पाऊँ,’ फिरादपत्रमा उल्लेख छ ।

मुद्दाको विवरण 

स्काउटको स्वामित्वमा काठमाडौँ महानगरपालिका मा रहेको कित्ता नम्बर ११ र १० को जग्गा व्यावसायिक प्रयोजनका लागि सम्झौता गरी बहालमा लिएको मुद्दामा उल्लेख छ । कित्ता नं. ११ को पूर्वी मोहडा लैनचौर लाजिम्पाट सडकपट्टिको बनेको एकनाले दुईतले भवनको तलमाथि गरी ३६ कवल छन् । भवन रहेको सात हजार ४६० वर्गमिटर क्षेत्रफलको मासिक भाडा नौ लाख ३२ हजार पाँच सय रुपैयाँ तोकिएको छ । १८ चैत ०७३ मा १० वर्षका लागि स्काउटले दोस्रोपटक खड्काल्यान्ड सँग सम्झौता गरेको थियो । प्रत्येक दुई वर्षमा १० प्रतिशतको दरले भाडा वृद्धि हुने सर्त सम्झौतामा थियो । त्यही कित्तामा रहेको तीन हजार १७० वर्गमिटरमा बनेको एकनाले दुईतले भवनको व्यावसायिक भवन दोस्रो को भुइँतलामा रहेको १२ सटर कवलहरू १० वर्षका लाागि २० फागुन ०७४ मा भाडा सम्झौता भएको थियो ।


पार्टी प्यालेस र रेस्टुरेन्टमा तीन महिनादेखि ताला
सत्ता र शक्तिको बलमा खड्काले स्काउटको जग्गा हडपेर भाडामा लगाएको संरचनामा काठमाडौँ जिल्ला प्रशासनले गत ६ वैशाखको राति ताला लगाइदिएको थियो । काठमाडौं जिल्ला प्रशासनले प्रहरीको सहयोग लिएर वडा कार्यालयसमेतको रोहवरमा खड्काल्यान्डबाट १५ वर्षदेखि भाडामा लिएर सञ्चालनमा रहेको लैनचौर बैंक्वेट र सँगै जोडिएको माई च्वाइस रेस्टुरेन्टमा ताला लगाइदिएको हो । यो सिल अझै जारी छ । 

सम्झौताबमोजिमको रकम नबुझाएपछि धरौटी जफत 

०७६ भदौदेखि गत ०८० चैत मसान्तसम्म सम्झौताबमोजिम खड्काल्यान्डले पछिल्लोपटक गत २३ जेठमा २५ लाख रुपैयाँ खातामा जम्मा गरिदिएको स्काउटले जनाएको छ । सम्झौताबमोजिम भाडा नबुझाएपछि स्काउटको प्रमुख आयुक्तस्तरीय निर्णयबाट गत १३ असारमा खड्काल्यान्डले धरौटीबापत राखेको रकमसमेत जफत गर्ने निर्णय गरिदियो । स्काउटका अनुसार अहिले खड्काल्यान्डले भाडाबापत बुझाउनुपर्ने रकम ६ करोड ६९ लाख २७ हजार ८९१ रुपैयाँ छ । ३६ कवलको पहिलो भवन, १२ कवलको दोस्रो भवन र तीन रोपनी जग्गाको गरेर हालसम्म कुल बक्यौता रकम १२ करोड २३ लाख ८५ हजार ४८२ रुपैयाँ रहेकामा विभिन्न समयमा गरेर चार करोड ९२ लाख ३५ हजार २१ रुपैयाँ बैंक दाखिला भएको छ । यसमा धरौटीबापतको ६२ लाख २२ हजार ६१० रुपैयाँ जफत गर्दा खुद बाँकी बक्यौता ६ करोड ६९ लाख २७ हजार ८९१ रुपैयाँ निस्किने हिसाब स्काउटको छ । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज