काठमाडौं । निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ आज हुँदैछ । संघीय संसद्को विशेष सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइका लागि बुधबारलाई मिति तोकेको हो ।
प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा राखिएको छ । संवैधानिक परिषदको असार २ गते बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । परिषदले प्रधानको संसदीय सुनवाइका लागि असार ४ गते समितिमा पठाएको थियो ।
प्रस्तावित आयुक्तविरुद्ध संसदीय सुनुवाइ समितिले असार ७ गते उजुरी आह्वान गरेको थियो । सोही दिन समितिले असार २१ गते प्रधानको संसदीय सुनुवाइका लागि मिति तय गरेको थियो । तर प्रधान विरुद्ध यौन दुर्व्यवहार लगायतका ४ वटा उजुरी परेपछि असार २० गते समितिले उजुरीकर्तालाई बोलाएर सिंहदरबारमा छलफल गरेको थियो । उजुरीकर्तासँगको छलफल पछि प्रधानको संसदीय सुनुवाइ रोकिएको थियो । ।
प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा समेत कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूवीच छलफल भएको बताइएको छ ।
पिडित उजुरीकर्ताले आफूलाई प्रधानले यौन शोषण र दुर्व्यवहार गरेको बताएकी थिइन । आगामी दिनमा कहींकतै जाहेरी नगर्न भन्दै प्रधानले आफूलाई १ करोड २५ लाख रुपैयाँ दिएको ती महिलाले बताएकी थिइन् । केही समययता प्रधान आफूसँग टाढा हुन खोजेको, उनीसँगको सम्बन्धकै कारण घरबार बिग्रिएको, बच्चा नजन्माएको पनि पीडित महिलाले बताएकी थिइन् ।
पीडित महिलाले सन् २०१९ देखि २०२२ सम्म प्रधानले आफूमाथि यौन शोषण र दुर्व्यवहार गरेको उल्लेख गरेकी छन् । ‘कृष्णमान प्रधानले आफ्नो अफिस नेपाल कानुन समाजमा साँझ ५ अथवा ५स्३० बजेपछि बोलाइ अथवा शनिबारका दिन बोलाइ हरेक हप्ता यौन शोषण गरेको हो,’ पीडितको उजुरीमा उल्लेख छ, ‘मेरो धेरै ‘ब्रेन वास’ गर्दै आईएनजीओमा जागिर दिने भनी प्रलोभन देखाइएको थियो ।’
आफूविरुद्ध भएको यौन शोषणबारे प्रहरीमा उजुरी दिन खोज्दा एक वर्षसम्म प्रहरीमै जानबाट रोकिएको पीडितको उजुरीमा उल्लेख छ ।
संविधानको धारा २४५ (६) मा प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि योग्यता तोकिएको छ । जसमा स्नातक गरेको, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, ४५ वर्ष उमेर पूरा भएको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने उल्लेख छ ।