प्रतिनिधिसभा दुर्घटना बढेकामा सभासदहरूद्वारा सरकारको ध्यानाकर्षण 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पछिल्लो समय हवाई र सडक दुर्घटना बढेकामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनीहरूले हवाईजहाज र बस दुर्घटना बढ्दै गएकामा सम्बन्धित निकाय जिम्मेवार र जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो । 

    यही साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको तथा पहिरोले दुई बस बगाउँदा त्रिशूली नदीमा दुई हप्ताभन्दा बढी समय भइसक्दासमेत अझै ३७ यात्रु नभेटिएको घटनाप्रति सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको र यातायात सञ्चालनमा समस्या भएको विषय पनि उनीहरूले उठाएका छन् ।

    सांसद राजेन्द्र बजगाईंले पछिल्लो दुई वर्षमा मात्र सातवटा हवाई दुर्घटना भएकामा चिन्ता व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओ०ले नेपालको हवाईसेवामा नियामकीय र सेवा कार्य छुट्याउनुपर्ने माग गर्दै आएकामा त्यसो हुन नसकेको उहाँको भनाइ थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियामकीय भूमिका बारे समेत सांसद बजगाईंले प्रश्न उठाउनुभयो । नेपालको हवाईसेवा युरोपमा कालोसूचीमा रहेको विषय पनि उहाँले उठाउनुभयो ।

    सांसद सुनिता बरालले नेपालको हवाई सुरक्षामा जोखिम बढ्दै गएको विषय उठाउनुभयो । एकपछि अर्को हवाई दुर्घटना हुँदा त्यसले पर्यटन क्षेत्रमा गम्भीर असर पार्ने उहाँको भनाइ थियो । नेपालले पर्यटन क्षेत्रमार्फत आर्थिक समृद्धिको परिकल्पना गरिरहेको बेला हवाई क्षेत्र असुरक्षित बन्दै जाँदा त्यसले नराम्रो सन्देश गइरहेको उहाँले बताउनुभयो । सौर्य एयरलाइन्सको ब्ल्याकबक्सको विश्लेषणबाट दुर्घटना प्राविधिक कारणले भएको हो वा क्याप्टेनका कारण हो भन्ने थाहा हुने भएकाले जाँचबुझ समितिले त्यसलाई गम्भीर भएर हेर्नुपर्ने सांसद बरालले बताउनुभयो । 

    सांसद पूर्णबहादुर घर्तिले सौर्य एयरलाइन्सको जहाज दुर्घटना कसको कमजोरीका कारण भएको हो भन्नेबारे निष्पक्ष छानबिन गरिनुपर्ने  बताउनुभयो । देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा कठिनाइ भइरहेको विषय पनि उहाँले संसद्मा उठाउनुभयो ।

    सांसद राजेन्द्रप्रसाद लिङ्देनले दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज मर्मतसम्भारको सेवा काठमाडौँबाट दिन सकिन्थ्यो वा सकिन्थे भन्ने प्रश्न गर्नुभयो । गैरप्राविधिक र ठूलो सङ्ख्यामा कर्मचारी बोकेर उडेको उक्त विमानमा नियामक निकायले को–को जाँदैछन् भनेर समेत जानकारी नराखेकाबारे प्रश्न गर्नुभयो । 

    सांसद सञ्जयकुमार गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङ्गर अभावका कारण जहाज मर्मतसम्भारका लागि पोखरा लैजानुपर्ने अवस्था आएको र सो क्रममा दुर्घटना भएको विषयमा सत्यता रहे–नरहेकोबारे प्रश्न गर्नुभयो । नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक संसद्मा ल्याइनुपर्ने उहाँले माग गर्नुभयो ।

    सांसद महिन्द्रराय यादवले पूर्वराज्यमन्त्री रामचन्द्र रायको रहस्यमय ढङ्गले हत्या भएको विषय संसद्मा उठाउँदै सो प्रकरणको निष्पक्ष छानबिन गरिनुपर्ने माग गर्नुभयो । साथै नेपाली आकाश हवाई यातायातका लागि असुरक्षित हुँदै गएकाप्रति चिन्ता व्यक्त गर्नुभयो । 

    सांसद सर्वेन्द्रनाथ शुक्लले सौर्य एयरलाइन्सको जहाज दुर्घटना र दुईवटा बस त्रिशूली नदीमा हराइरहेको विषय संसद्मा उठाउनुभयो । लामो समयदेखि ग्राउन्डेड जहाज प्राविधिक रुपमा ठीक छ वा छैन भन्ने जाँच नगरीकन उडान अनुमति दिनु गम्भीर गल्ती भएको उहाँको भनाइ थियो ।

    सांसद पूर्णबहादुर तामाङले सिन्धुपाल्चोकमा बाढी पहिरोमा परेर तीनजनाको मृत्यु भएको र मृतकका परिवारलाई राहतका लागि सरकारसँग माग गर्नुभयो । जथाभावी सडक बनाउँदा वर्खायाम लागेपछि समस्या पर्ने र हिउँदमा फेरि वास्ता नगर्ने परिपाटी रहेको बताउनुभयो ।

    सांसद गणेश पराजुलीले नेपाल विद्युत् प्राधिकरणको हाइभोल्टेज तार व्यवस्थापन गर्न नसक्दा नागरिकले ज्यान गुमाउने गरेका तथा ढल र खानेपानीका पाइप व्यवस्थापन हुन नसक्दा सडक असुरक्षित बन्दै गएको विषय उठाउनुभयो । त्यस्तै, नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपीलाई पक्राउ गर्ने प्रहरी अधिकारीलाई सरकारले सरुवा गरेको उहाँको आरोप थियो ।

    सांसद प्रभु साहले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले नेपालको हवाई क्षेत्र असुरक्षित छ भन्ने सन्देश गएको बताउनुभयो । यसका लागि सम्बन्धित निकाय जिम्मेवार र जवाफदेही हुनुपर्ने उहाँको भनाइ थियो ।

    सांसद हरि ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीति निजी क्षेत्रमैत्री आएको उल्लेख गर्दै अघिल्लो सरकार र अर्थमन्त्रीलाई राष्ट्र बैङ्कले सहयोग नगरेको आरोप लगाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज