काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा मातहतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिको निर्वाचन यही साउन १५ गते गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले समितिको रिक्त सभापतिको निर्वाचन आगामी मङ्गलबारका लागि निर्धारण गर्नु भएअनुरूप सचिवालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यक्रमअनुसार सो समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को एक सदस्यको समर्थनसहित प्रस्ताव दर्ता गर्नुपर्नेछ । यस कार्यका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको प्रतिनिधिसभा सचिवको कार्यकक्षमा सोमबार दिनको १ बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरिएको प्रतिनिसभाका सचिव सुरेश अधिकारीद्वारा हस्ताक्षरित निर्वाचन कार्यक्रममा उल्लेख छ ।
निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सोमबार दिनको ४ः३० बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ । समितिको मङ्गलबार दिउँसो ४ः ३० आरम्भ हुने बैठकमा प्रस्तावकले प्रस्तुत गरेको प्रस्तावलाई समर्थकले समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत गरिने छ ।
यसअघि समिति सभापति रहुनभएकी नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि नयाँ सभापति चयन गर्न लागिएको हो ।