काठमाडौँ । अदालतको अवहेलना गरेको ‘सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानल तथा एक व्यक्ति विरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि पेसी चढेको छ ।
सर्वोच्च अदालतले सिधा कुरा अनलाइनका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुङ्गाना लगायत विरुद्ध अदालतको अवहेलना मुद्दा ९ जना न्यायाधीशको बृहत् पूर्ण इजलासमा सुनुवाइ भइरहेको हो । बृहत् पूर्ण इजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुङ्गाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेका छन् ।
सिधा कुराु नामको अनलाइनले सर्वोच्च अदालतका न्यायाधीश, मिडिया सञ्चालक, कानुन व्यवसायीका सम्बन्धमा भ्रामक प्रचार सामग्री तयार पारी प्रसारण र प्रकाशन गरेको थियो भने उक्त कार्यले अदालतको न्याय सम्पादनमा नै असर परेको भन्दै सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध अदालतको अवहेना मुद्दामा निवेदन दिएका थिए ।
सिधा कुराले तयार पारेको अडियो सामग्री भ्रमका र असत्य भएको प्रहरी अनुसन्धानबाट स्पष्ट भएको उल्लेख छ। प्रहरीले तयार पारेको प्रतिवेदनका आधारमा सिधा कुराका प्रकाशक र कार्यकारी सम्पादक विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।