काठमाडौँ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एकअर्काका परिपूरक रहेको बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित वार्षिक गतिविधि पुस्तिका २०८०/८१ ९ वर्ष पुस्तक हस्तान्तरण कार्यक्रममा उहाँले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेको बताउनुभयो ।
प्रदेश प्रमुख भट्टले मानव अधिकारको विषय सामान्य जस्तो लागे पनि अत्यन्त गम्भीर रहेको उल्लेख गर्दै यसको पालनमा सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । “मानव अधिकार सबैका लागि हो । आवाजविहीन र सीमान्तकृत समुदायका हकअधिकार स्थापित गर्न, मानव अधिकार प्रत्याभूत गर्न आयोगले महत्वपूर्ण भूमिका छ”, उहाँले भन्नुभयो, “मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ । यस्ता घटना हुनै नदिनेतर्फ सबै सजग र जिम्मेवार हुनुपर्छ ।”
राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिबद्ध रहने उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले आयोगलाई भौतिक स्रोतसाधन र आवश्यक पर्ने बजेट विनियोजन प्रदेश सरकार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मानव अधिकार आयोगसहित अन्य आयोगबाट भएका सिफारिस कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहने उहाँको भनाइ छ ।
प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गरिरहँदा अरुको अधिकार हनन गर्न नहुनेमा जोड दिनुभयो । उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउन कानुनी शासन अत्यावश्यकपर्ने भन्दै यसका लागि सबै एकजुट भएर सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार कार्यालय पोखराका प्रमुख नितु गड्तौलाले प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गर्दै प्रदेशमा विद्यमान मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।