आज रोशनीको जन्म दिन, उपहारको रुपमा केही पुराना यादहरू अनि व्यवसयीक वास्तविकताका शब्दहरू उपहार स्वरूप लेख्दै छु । मलाई थाहा छैन हाम्रो संयुक्त सङ्घर्षले कतिको सुखको अनुभूत गरेको छ । तर सँगै गरेको सङ्घर्षका घटनाहरू कम रोमाञ्चक र व्यवहारिक छैनन् । शिक्षित परिवार र परिवारको निरन्तर सहयोग हुँदा हुँदै पनि व्यवसायीक विभेदका धेरै घटनाहरूको साक्षी बनेकी रोशनीलाई हेर्दा पारिवारिक वातावरण बिना पारिवारिक सहयोग बिना र पारिवारिक प्रेरणा बिना व्यवसाय गरी रहेका महिला कानून व्यवसायीका यथार्थ कम पेचिलो भने पक्कै छैन । हुन त व्यवसायीक समस्याहरू महिलाका मात्र छैनन् युवा कानून व्यवसायीका पनि उत्तिकै छन् तर आजको यो शनिबार म घर भित्र कै केही घटनालाई जोड्न चाहन्छु । मलाई थाहा छ घटनाहरूले एक अर्कोसँग सम्बन्ध नराख्ला तर व्यक्ति भने एउटीमा केन्द्रित गरेको छु ।
सन् २००२ को सुरुमै पुणे विश्वविद्यालयबाट एल.एल.एम. के सकेको थिएँ कैले नेपाल पुगेर बुबाको ल फर्ममा जोडिन्छु भन्ने थियो । काठमाण्डौमा त आँट गरेको थिइन, चितवनमा चाहिँ मस्त व्यवसाय गर्ने हो सानले घर मै बसी, घर कै आफिस अनि व्यवसयीक उत्तराधिकारीको रुपमा भन्ने थियो । उसबेला बुबाको व्यवसाय मस्त चलेको थियो । बुबालाई भेट्न गाह्रो । सोचेँ चितवनमा नै काम गर्छु बुबा लाइ सजिलो बनाउछु तर मलाइ थाहा थियो मा काठमान्डू नै जानु पर्छ संघर्ष गर्न । किन किन पहिले देखिनै काठमाण्डौ आफ्नो जस्तो लाग्थेन । अनि अहिले पनि काठमाण्डौ अबको करिब १ दशक काम गरेपछि चितवन नै फर्किन्छु र बाँकी समय न्यायमा पहुँचका लागि निःशुल्क कानूनी सेवामा बढी समय बिताउँछु भन्ने छ । पुणे जानु अघि चितवन जिल्ला अदालतका माननीय न्यायाधीश शम्भु बहादुर खड्का श्रीमानसँग लामो कुरा गरेँ । श्रीमानले मिहेनत को पढाइ अनि व्यवसायीक सल्लाह र सुझाब समेत दिनुभएको थियो पुणे बाट फर्केसी को । तर श्रीमान ले उसबेला नै एल.एल.एम. गरेपछि तिम्रो क्षेत्र काठमाण्डौलाई बनाउनु पर्छ भन्नु भएको अझै याद छ । आखिर काठमाण्डौमा नै व्यवसयीक सङ्घर्षका दिनहरू चलिरहेको छ ।
अब नि बिहे नगरे कैले गर्ने ? बिहेको दबाब
उही हो, स्नातकोत्तर सकेपछि घरमा अभिभावकलाई बिहे गर्ने चटारो । आफूलाई भर्खर पढाई सकेको छु, केही समय काम गरुँ, अनि के काममा बाँकि जीवन गुजार्ने हो तय गरुम त्यसपछि बिस्तारै बिहे गरुँ भन्ने थियो । एल.एल.एम. गरेर के घर फर्केको थिएँ, बिहेको प्रस्ताबहरु आउन सुरु भो । बुबा आमालाई दिनको दिन दबाब । उमेर पुगिसकेको छ पढाइ सकिएको छ अब न सिंग आउँछ न जुरो पलाउँछ बिहे गर्नु पर्छ भन्ने दबाब सब तिरबाट आउनथाले। एकपटक त कुरा ल्याउने लमीले मैले बिहे गर्न तयार छु भनेछन् कि केहो मेरो जानकारी बिना केटी पक्षलाई रबि भवनमा भेट्न बोलाएछन् । पुगें सामान्य कुराकानी होला भनेको त बिहेको टुंगो टिका टालो लाउन लाइ दिन नै तोक्ने योजना रैछ । कन्याको फोटो मात्र देखेको भेटेको नै थिइन । बुबा पनि हुनु हुन्थेन बुबालाई परेको दबाबबाट पन्छिन छोराले मान्यो भने मलाई स्वीकार छ भनि दिनु भएको रहेछ । म राम्रै दबाबमा पर्दै गएको अनुभब भयो । मैले उही कुरा दोहोर्याएर भने म भर्खर पढेर फर्केको छु । बार काउन्सिलको परिक्षा पास भैसकेको छैन कानून व्यवसायी नि भैसकेको छैन । काठमाण्डौ स्कुल अफ ल मा प्राध्यापन गर्छु तर कलेज त नयाँ छ तलब कहिले आउने केही भर हुन्न । त्यसैले अहिले नै मेरो बिहेको योजना छैन भनि के टार्न खोजेको थिएँ गाह्रो पर्यो, धेरै दबाब आयो झन्डै कुटाइ खाइएन । त्यसपछि त बिहे सम्बन्धि कुराकानीमा कहिले बसिन । किनकी मलाई अहिले नै बिहे गर्नु थिएन । अनि कोहि अन्जानको चित्त दुखाउनु नि थिएन ।
एकदिन साथीहरुसँगको नयाँ बर्षको भेटघाटमा बानेश्वोरको बेकरी क्याफेमा रोशनीसँग चिन जान भयो । ल क्याम्पसमा आक्कल झुक्कल देखेको जस्तो लागेको रोशनी मेरो नजिकका साथी निशाको सहपाठी रहिछन् । एल.एल.एम. पढ्दै गरेकोले पढाइका बारेमा केही कुराकानी भयो । मेरो रुममेट साथी अजित श्रेष्ठ र मेरो सहपाठी साथी सावर बस्नेतले त्यो दिनबाट मलाई जिस्काउन सुरु गरे । उता रोशनीको साथी निशाले रोशनीलाई जिस्काउने गर्दिरहिछन । यती बेलासम्म मलाई निशा मार्फत के थाहा भैसकेको थियो भने रोशनीलाई एउटै पेशा भएको मानिस मन पर्दैन रे बिहे गर्नको लागि खासमा भन्न खोजेको वकिललाई रहेछ । त्यो सुन्ना साथ म आफै रोशनीसँग सम्पर्क बिहिन हुन थाले । तर एउटै पेशा भएकोले कार्यक्रममा कहिले काहीं भेट्नु स्वाभाविक नै थियो । म पुने पढेर आएको, कानुन प्राध्यापन गर्ने, कानुन ब्यबसायी परिवारको अनि वकिल नै बनेर पेशा गर्छु भन्ने कुरामा दृढ, अनि अलि फरक नै देखिए होला भिडमा बोलि ब्यबहार मा १ /२ वटा भेटघाट पछि सायद रोशनीको मनमा वकिललाई हेर्ने तरिका अलि फरक भएछ कि के हो बिबाह भन्ने कुरा अभिभावकको मन्जुरीमा भर पर्छ भन्ने उनको भनाइ रहेको सुईको पाएँ । यो कुरा अजितलाई थाहा हुना साथ बुबा काठमान्डू आको बेला उसले बुबालाई भनेछ । जुन मलाई थाहै थिएन । उसले बुवालाई तपाई अभिभावकहरुको कुरो मिल्यो भने सरोज बिहे गर्न तयार छ रोशनी को बुबा लाइ भेटेर कुरा गर्नुस । त्यत्ति बेलासम्म निशाले पनि रोशनीको बुबासँग मेरो बारेमा भनिसकेकीले रोशनीको बुबाले मेरो बारेमा चितवनमा बुझ्न खुपिया एजेन्ट खोज्नु भएछ । एजेन्टले नि भरतपुर मा राम्रो स्कुल पढेको, बाउकै पेशा गर्ने, भारतमा पढेको एक्लो छोरो हो चितवनका हुने खाने नै हुन, टाठो छ एक्लो छोरो पनि हो गज्जबको जोडी मिल्छ कुरो अगाडी बढ्यो भने राम्रो हुन्छ भनिदिए छन। हाम्रो बारेमा राम्रो ड्यु डीलिजेंस रेपोर्टिंग गरेछन पछि थाहा भयो । बुबालाई मेरो बिबाह गर्न हतार थियो । कुराकानी मिलाएर रोशनीको बाबासँग भेट भयो । बुबालाई नि रोशनी र परिवारको बारेमा सुनेसी दोस्रो सोच बिना तयार हुनु भयो । तेस्पछी बाबुहरुको बीच कुरो अगाडी बढेछ अनि बिबाह हुने पक्का भयो । कुरा पक्का भएको मितिले ३ महिना पछिलाई विवाह तोकियो । एल.एल.एम को प्रथम बर्षमा पहिलो भएकी रोशनी, दोस्रो बर्षको परिक्षा सकिना साथ बिबाह गर्ने योजना अनुसार टिका टालो भएको ३ महिनामा बिबाह गरियो ।
म पुणे बाट आउना साथ अजितसँग बसेको थिएँ काठमाण्डौ ठुलो बुबा को घरमा । मेरो मोटर साइकल, ग्याँस चुल्हो र सिलिन्डर अनि एउटा पलंग बाहेक केही थिएन । ठुलो बुबाको घर कलंकीमा बस्ने हुनाले अजित अन्तै सर्नु पर्यो मलाई घर छोडेर उसले आफ्नो समान लिएरै जानु पर्यो अनि घर पुरै खालि । बिबाहको दिन चितवन देखि काठमाण्डौ आइयो, उतैबाट चितवन फर्कियो । फर्किने बेला नागढुंगा पुगेपछि रोशनी र मेरो एउटा कुरामा सहमति भयो । नागढुंगाबाट चितवन लागेपछि मेरो घरको संकार र नियम लागू हुने र नागढुंगा छिरेपछि रोशनीको माइतीको वा मेरो ससुरालीको । आजसम्म हामी यही सहमतिमा चलेका छौं । दुबै जना ब्राह्मण परिवारको भएता पनि संकार र साँस्कृतिक कुरामा हाम्रो भिन्नता छ । जुन बेला जता भइन्छ त्यही संस्कारमा चालिन्छ । अहिले हाम्रो परिवार काठमाडौँमा छ तर घरानुसारको संस्कार मिलाए रै राखिएको छ ।
के मा खुवाउने हो ससुरा बा लाई चिया ? न भाँडो न ग्लास
बिबाह पछि चितवनबाट फर्केसी हामी सिधै रोशनीको माइतीमा गयौं । म बस्ने घर पुरै खालि थियो । नयाँ समान रोशनी र म भएर जोड्ने योजना थियो मेरो । दाइजो त मैले सुरुमै इन्कार गरी सकेको थिएँ । घर खालि भएको जानकारी रोशनीलाई दिएको थिएँ तर पुरै खाली छ भन्ने रोशनीको सोच भन्दा बाहिरको कुरो रहेछ । मलाई लाग्यो अमिर खानले कयामत से कयामत तक फिल्म मा गाए जस्तै “दुर कहिँ जाएंगे नई दुनिया बनायेंगे ।“ किनकी समान हाम्रो चाहना अनुसार किन्नु थियो । अनि सानो एउटा संसार बनाउनु थियो । बुबा आमा बहिनी चितवनमा हामी दुई काठमाण्डौमा । म सिधै पहिलो पटक ससुराली गँए र सिधै कोठामा आएँ रोशनीलाइ छोडेर । रोशनीलाई साँझमा आउ किनमेल गर्न जाउँला भने । साँझ मेरो ससुरा पुर्याउन आउनु भएछ । बाटो बाटै छोडेर जान खोज्दा कोठामा चिया खाएर जान अनुरोध गरेर ल्याइछिन् रोशनीले । हैट ! कोठामा न चिया पकाउने भाँडा न ग्लास । कोठामा आइसकेपछि पुरै खालि देखेसी ससुरालाई के भयो त थाहा भएन रोशनीको अनुहार हेर्न लायकको थियो । म एक सुकुम्बासी सरह अवाक उभिरहेको थिएँ । किनकि म बाहेक कोठा पुरै खालि थियो । मलाई एउटा सानो संसार आफैं बनाउनु थियो । तर यती खालि संसार होला भन्ने न रोशनीको मनमा थियो न ससुराको । उहाँलाई लाग्यो होला चितवनमा हुने खानेको छोरा भनेर सब बुझेर छोरी दिएको तर ज्वाई सुकुम्बासी परेछ । मलाई धेरै अप्ठेरो लाग्यो । तर यथार्थबाट म भाग्ने अवस्थामा थिइन । सब कुरा भनें रोशनी र ससुरा बा लाई । कलंकी माथि मन्दिर छेउमा पुगेरसँगै चिया खाइयो अनि ससुरा बा लाई बिदा गरी हामी नयाँ जोडी समान जोरजाम गर्न लाग्यौं । बिहेको पाँचौ दिन काठ माण्डौको पहिलो दिन, न रोशनीले केही भन्न सक्ने न मैले त्यसको उत्तर दिन सक्ने । हामि दुइ जना चुपचाप । अहिले चाहिँ त्यसबेलाको परिस्थिति बारे कुरा हुन्छ प्रतिक्रिया मिस्रित तर घटना नबिर्सिने । उसलाई लागेको रहेछ घर खालि छ भन्दा घरको न्युनतम सामान त होला चिया त पाक्छ होला , मैले घर खालि छ हामीले नै जोड्ने हो भन्दा घरमा केही छैन घर पुरै खालि छ भन्ने नै थियो । बुबा आमा चितवन बस्ने बारम्बार सोध्नु हुन्थ्यो काठमाण्डौमा केही जोड्नु छ नयाँ दुलही लाँदै छस् बसाइ कस्तो छ ? बुबालाई सामान जोडीदिनु भन्न मन लागेन । अहिले चाहिं पछुतो हुन्छ किन बुबालाई भनिन अनि नयाँ दुलहीलाई सुकुम्बासी देखिने गरि लगें भनेर । तर उतिबेला खालि थियो र त अहिले यी कुरा भाको छ, सब थोक भएको भए यो सम्झिने कारण नै हुन्थेन । हाम्रो लागि त्यो प्यासा सावनको गीत जस्तै, “तेरा साथ हे तो मुझे क्या कमि हे, कुच भि नही हे लेकिन सब कुच है…”जहिले सुनिन्छ फर्केर तेही पुगिन्छ । अनि दुबैको व्यवसयीक सङ्घर्षका पानाहरु त्यहीबाट जोड्न सुरु गरिन्छ ।
मैले कानून व्यवसायीको समस्याको बारेमा सानै देखि बुबालाई हेरेर अनि बुबाले भनेर, सिकाएर बुझिसकेको थिएँ । मलाई थाहा थियो एउटा कानून व्यवसायीले जहिलेसम्म आफ्नो आत्मविश्वास, व्यवसयीक दृढता अनि कार्यक्षमता बढाउँदैन तब सम्म उ चल्दैन चल्नसक्दैन । अझ व्यवसयीक निष्ठालाई मन्त्र बनाउने हो भने धेरै समय लाग्छ व्यवसायमा टिक्न । लण्डन जानु आघिका सङ्घर्षका कथा कम चुनौतीपूर्ण छैन । आफु भन्दा अग्रजसँग सर्वोच्च अदालत प्रांगणको क्यान्टिनमा गफ गरेर चिया खान पाएको दिन २ घण्टासम्म गफ गर्ने कुरा मिल्थ्यो ।
व्यवसयीक जीवनको सुरुवातीमा दुबै जना एउटै पेशामा हुँदाको सङ्घर्षका आफ्नै काहानी हुन्छन् । हाम्रो पनि त्यस्तै कहानी छ । कलंकी दाजुको घरबाट दधिकोटसम्म प्राध्यापन गर्न जान टाढा भो अनि बुद्धनगर डेरामा सरियो । महिना मरेको भोलिपल्टको बिहानीमा घरबेटीको ढक ढकले आँखा खुल्थ्यो, कुटिल हाँसोले के छ सरोज जी महिना मर्यो नि भनेर घरबेटी भट्ट दाईले सोध्दा हामीले भाडा आजै दिनु पर्यो भन्ने बुझ्नु पर्थ्यो । भाडा नभएको दिन कित ससुराली बस्ने गरेर गइन्थ्यो कि त रोशनीलाइ माइत छोडेर साथीकोमा । अनि भाडा खोजेर कोठामा फर्किन्थ्यो । पुनाबाट एल.एल.एम. गरेर आएको म कत्रो शानले फर्केको लाग्थ्यो काठमाण्डौ आउनासाथ मलाई तानातान हुन्छ अनि म छानी छानी जागिरमा गए नी, ल फर्ममा गए नी काम गर्ने हो । भने जस्तो कहाँ पो हुँदो रहेछ । काठमाण्डौ स्कुल अफ ल मा प्राध्यापन त चलेकै थियो । ल फर्म त कहिँ पाइदैन । बुबालाई तपाईका साथिहरुलाई भनिदिनु पर्यो भन्दा कहिले मान्नु भएन । काम क्षमतामा खोज्ने हो सिफारिसमा होइन । कसैको सिफारिस र अनुग्रहमा काम गर्ने धेरै मानिस परजीबी हुन्छन् भन्नुहुन्थ्यो । बुबाले भनेको साँचो हो भन्ने लाग्छ तर यथार्थ हाम्रो व्यवसाय र नेतृत्वमा अलि फरक नै छ ।
बुबाले मैले यता चितवनबाट के सहयोग गर्नु पर्यो भन् भनेर बारम्बार सोधे पनि म बिबाहित युवा बुबासँग माग्ने आँट थिएन । रोशनीको तलबले जेनतेन पुग्थ्यो पुर्याइन्थ्यो । मेरो तलब कहिले आउँछ तलब आएको दिन मात्र थाहा हुन्थ्यो । हिजो अबिबाहितको जस्तो बुबाको पैसा उडाउने बानिबाट म सुध्रिसकेको थिएँ । बुबालाई मज्जा ले थाहा थियो पेशाको अवस्था । अनि सोधी रहनुहुन्थ्यो । तर बुबासँग माग्ने आँट भएन । बुबालाई उहिलेनै थाहा थियो कि मेरो पढाइले म चितवन बस्ने वाला थिइन । काठमाडौँमा जग्गा चाहिन्छ । म इन्डियाबाट आउनु अघि नै बुबाले जग्गा किन्नु भएको रहेछ काठमाण्डौमा । बुबाले एकदिन काठमाण्डौ आएर डेरामा हाम्रो हालत देखेर अब म डेरामा आएर बस्न सक्दिन यहाँ सानो घर बनाउनु पर्छ । डेरा मै बस्ने हो भने म तेरो डेरा आउँदिन बरु होटेलमा बस्छु । तेरो लागि घडेरी किनि दिएको छु घर बनाउने हिम्मत गर सहयोग म गरुँला । पेशाको भर नै नभएको हामी बुबाले आँट गरेपछि डेरामा पैसा तिर्नु भन्दा सानो घर बनाउने भन्ने निर्णयमा पुगियो । बैंक लोन खोजियो सुरु गरियो । केही बर्ष अघि मात्र दुबै जना मिलेर तिरी सकियो ।
घर बन्दै थियो अर्को एल.एल.एम. गर्ने अवसर छोड्न सकिन अनि लागियो लण्डन तिर । लण्डनको आफ्नै कथा छ । रोशनी लण्डन आउँदासम्म रोशनीको स्वस्थ्य त्यती राम्रो थिएन । डा. भोला रिजालले तपाईको श्रीमती गर्भवती भएको थाहा हुना साथ बच्चा नजन्मिदासम्म पुरा आराम चाहिन्छ भने । रोशनीलाई एक्लै काठमाण्डौमा छोडेर लण्डन बस्न सकिन । त्यसैले ३ महिना मै उनलाई पनि लण्डन बोलाएँ । रोशनीले मानव अधिकार आयोगबाट राजिनामा दिएर आइन् लण्डन मलाई पढाइमा सघाउन एल.एल.एम. थेसिसको व्यक्तिगत अनुसन्धानकर्ता भएर । उनको श्रमको आफ्नै कहानी छँदैछ ।
म मिड वाइफ (सुडेनी) बनेको त्यो समय
सन् २००८ को मे महिना थ्यो, ३ दिन अस्पताल भर्ना पछी वूल्विच को महारानी एलिजाबेथ अस्पतालका डाक्टरले तिम्रो बच्चा भोलि बिहान जन्मन्छ । तिम्रो छोरा भएकोले छोरालाई चाहिने कपडाहरु सहित बन्दोबस्तीको सामान लिएर आउ भनिन् । साँझसम्म साथीभाईको सहयोगमा जोरजाम गरियो । साँझमा फेरी बोलाइन् र भनिन् तिमि र मिड वाइफले मिलेर बच्चालाई धर्तिमा उतार्न हो भोलि तिमि मिड वाइफसँगै तयार हुनु । म अवाक । के भन्या केही बुझिन । मलाई भनिएको रैछ तिमि सुडेनी हुन तयार हुनु । बच्चा जन्माउने महिलालार्इ हाम्रो भाषामा सुडेनी भनिन्छ। भोलिपल्ट बिहान मिड वाइफ आइन अनि मलाई भनिन् तिमि तयार हुनु यो कपडा लाउनु । आज यो अस्पतालको कोठामा तिम्रो श्रीमती, तिमि र म मात्र हुन्छौं । स्वस्थ्यमा समस्या आयो भने डाक्टरहरु कुदेर आइहाल्छन्, तिम्रो श्रीमतीलाई सुत्केरी गराउने हामी दुइ जनाले हो । सुत्केरीको पीडामा पल्टेकी रोशनी आधा होशमा थिइन् छोरा रोशनीको गर्भबाट बाहिर आउन खोज्दै थियो मिड वाईफ आफु उभि रहि अनि मलाई छोराको टाउको बिस्तारै समातेर तान भनेर निर्देशित गरी रहिन् । मेरो लागि सक्दिन भन्ने उपाय थिएन । उनले भनिन् तिमि बच्चालाई तान्न जति ढिला गर्छौ तिम्रो श्रीमतीलार्ए उती पीडा हुन्छ । अब सक्दिन भन्न नसक्ने अवस्थामा म मैले बिस्तारै छोरालाई आधा निस्केको टाउकोमा समातेर ताने । त्यो सुत्केरीको पीडाले म एकातिर तनावमा थिएँ भने अर्को तिर छोरालाई एउटा सानो संसारबाट ठुलो संसारमा ल्याउनु थियो । बिस्तारै सफल भएँ । मिड वाइफले सकेसम्म केही गरिनन् । कसरि हुन्छ मैले नै गरोस् भन्ने रहेछ । म सफल भएँ । छोरा बाहिर के आको थ्यो मिड वाइफले तिम्रो बच्चालाई पहिले आफ्नो नाङ्गो छातिमा एकछिन टासेर राख भनिन् । रगताम्य छोरालाई एकछिन टाँसेर राखें अनि रोशनीलाई दिए । आमा बाबु सासु ससुराको अनुपस्थितिलाई भुलाउने राधा, लक्ष्मी, जनक, सबिता, सन्जिब, बिमला, मनु, शिला मेरा लागि अभिभावक थिए । बुबा आमा सासु ससुरा दिदि बहिनिको अभाब त थियो तर सुत्केरी उम्काउने बेला मेरा प्रिय मित्रहरुको सहयोगले कहिले एक्लो अनुभव भएन । आफैं सुढिनी भैयो, आफैं भान्से अनि आफैं तेल मालिश । एउटा जन्मिदै गरेको बच्चाको रगतको नाता, माया ममताको अनुभूतिका लागि आमाले बच्चा पाउने पिताले निकाल्ने जुन गजबको जैविक अनुभवको साक्षी बनेर हामी फर्केका थियौं नेपाल । तर छोरी जन्मिदाको नमिठो अनुभवले रोशनीलाई भाबुक बनाइ रहन्छ । मलाई रिसले आगो ।
सन् २०१२ को समय छोरी जन्मदाको अनुभव बेग्लै । रोशनीलाई गारो भयो । हतार हतार साँझ अस्पताल पुर्याए रोशनीलाई । डाक्टर साबले तपाईको बच्चा बिहान जन्मिछ बरु सुत्केरीको सामान लिएर आउनु भनिन् । आमा र रजनी दिदिको जिम्मामा समान लिन गएको म २ घण्टा जति पछाडी सबै व्यवस्थापन गरी अस्पताल के पुगेको थिएँ छोरीलाई वार्डबाट बाहिर ल्याइयो । मलाई देखाउन । मलाई लागेको थियो भोलि बिहान छोरी जन्मिने बेला मलाई भित्र बोलाइन्छ रोशनीसँगै राखिन्छ अनि उसको पीडामा मसँगै हुन्छु । छोरी एकछिन मै जन्मेकी रहिछे । न मैले रोशनीलाई देख्न पाएँ । न छोरीलाई तान्न पाएँ । न सँगै छातिमा राखेर स्पर्श गर्न पाएँ । पाएँ तर एकछिन पछि छोरीलार्इ पुसपास गरिसकेपछि । रोशनीलाई भेट्न त अझ २र४ घण्टा लाग्यो । छोरी सकुसल जन्मेको र रोशनीको स्वस्थ राम्रै रहेकोमा खुसि थियो तर यो पुरै प्रक्रियामा मलाई अलग राखिएकोमा म सन्तुष्ट थिइन । रोशनी त हुने कुरै भएन । रोशनीलाई भेटें उसलाई सुत्केरीको पीडा भन्दा नि मलाई अलग गरिएको पीडाको अनुभूतिका आँशुहरु प्रष्ट देखिन्थे अनि भने हामी र बिकसित मुलुक बीचको एउटा फरक येही हो । हामी हाम्रो परम्परा ले जकडिएका छौं त्यसैले हामीले त्यसका लागि पूर्वाधार बनाएका छैनौं । सबै महिलालाई एउट कोठामा राखेर सुत्केरी गरिइन्छ अनि त्यसको व्यवहारिक समस्याहरू हुन्छन् तर हामीले बुझेको प्रजनन स्वस्थमा श्रीमानको पनि उत्तिकै संलग्नताको आवश्यकता पर्छ । बाबु आमाको सन्तान सँगको जैविक सम्बन्धको जानकारी यहाँ रहेनछ भन्ने लाग्यो । चुप बसियो ।
कोभिड १९ र प्रजनन स्वास्थ्य
कोभिड-१९ को प्रभावले देश लक डाउनमा गयो । प्रजनन स्वस्थ, घरेलु हिंसा, यौनिक हिंसा र लैंगिक हिंसामा हजारौं महिलाहरु पीडित बनेको समाचारहरु घरमै बसेर हेर्नु पर्ने अवस्था थियो । किनकि बाहिर कडा कानून थ्यो लक डाउनको । एकदिन समाचार आयो जुम्लामा गर्भवती महिलालाई हेलीलिकप्टरबाट उपचार केन्द्र ल्याउन नसक्दा एरपोर्ट मै मृत्यु । यो समाचारको पेट बोलि पढ्न सकिन मुटुमा शिर्षक स्वयमले पोल्यो रोशनी र मेरो । लण्डन हुँदै काठमाडौँको अस्पतालमा हाम्रो सन्तान जन्मिएको सुखद र दुःखद दुबै घटनाका साक्षी हामी । प्रजनन स्वास्थ्यलाई मौलिक हकमा राखिए पनि महिलाहरुको गर्भावस्थामा राज्यले उपचार दिन नसकेको कारण सयौं घटनामा महिलाहरुको अकालमा मृत्यु भएको दर्दनाक घटनाहरू हाम्रो जीवन पद्दति जस्तो देखिन्छ । लाग्यो हामीले यसको बारेमा केही गर्नु पर्छ कोभिड- १९ का कारण मर्नु हुन्न हाम्रा दिदि बहिनिहरु । तुरुन्त महिला वक्ता सहितको भर्चुअल कार्यक्रम राखियो कोभिड-१९ र महिलाको मानब अधिकार बिषयमा । महिलाले भोग्नु परेको विविध समस्याको उठान पछि रोशनी र मैले यो बिषय सार्वजनिक सरोकारको बिषय हो हामी सर्वोच्च अदालत जानु पर्छ भनि रिट निवेदन लेख्न लगियो । करिब एक हप्ता लगाएर तयार पारिएको रिट निवेदन महामारीको बेला महिलाको मानब अधिकार संरक्षणका लागि माननीय न्यायधिस सपना प्रधान मल्ल र माननीय न्यायाधिस प्रकाश कुमार ढुंगानाले गर्नु भएको फैसला ऐतिहासिक फैसला साबित भयो । त्यो मुद्दा अहिले नेपाल बार काउन्सिलको पाठ्यक्रममा पनि राखिएको रहेछ अनि धेरै पुस्तक र भाषामा प्रकाशित पनि भएको बुझियो ।
महिला प्रति व्यवसायिक विभेद
श्रीमान श्रीमती एउटै पेशामा हुनु धेरै पक्षबाट राम्रो देखिन्छ । एक अर्का बीचको व्यवसयीक समझदारी, बुझाइ र सहयोग तर हाम्रो सामाजिक सोचमा भने धेरै खोट देखिन्छ । हुन त मैले यो लेखि रहँदा हाम्रो जस्तै अरु जोडीहरुको समस्या पनि उस्तै बुझेको छु । एउटा सम्बन्धमा रहेका तर भिन्न भिन्न संघर्ष गरेर आउने २ व्यक्तिलाई व्यवसयीक रुपमा स्वतन्त्र हुन् भनेर बुझ्न नसक्ने हाम्रो ब्यबसायीक समाज छ । दुई फरक व्यक्ति व्यवसायिक रुपमा कहिले एक हुने सक्दैनन् । होलान घर भित्र छिरे पछि । कार्यालय र आफ्नो व्यवसयीक काम र दायित्व फरक नै हुन्छ । हामी यो यथार्थ मा संर्किण सोचबाट गुज्रेका छौं भने आ आफ्नो क्षमताबाट काम गर्दा गर्दै पनि एउटै युनिट भित्र देख्ने हाम्रो व्यवसायिक समाज र त्यसका सदस्यहरुको सोचमा गम्भीर पूर्वाग्रही छ भन्ने लाग्छ मलाई । त्यसको उदाहरण भनेको लोग्ने त्यही समितिमा छ भने श्रीमती किन चाहिने ? श्रीमानलाई सहभागी बनाएपछि श्रीमतीलाई किन बनाउने ? यो पारिवारिक कार्यक्रम हो र ? श्रीमान श्रीमती नै चाहिने ?आदि आदि । अनि श्रीमतीलाई आमन्त्रण गरेपछि एउटै घरका दुई जनालाई किन चाहियो, तपाई श्रीमान श्रीमती बिच सल्लाह गर्नुस् कसलाई छान्ने, श्रीमान श्रीमती बाहेको कोहि छैन् र ? अर्को आदि आदि ।
हुन त हामीले जति व्यवसायिक समानताको कुरा फलाके पनि, मैले र म जस्तै धेरैले आफ्नै घरमा चाहे श्रीमती, चाहे दिदि बहिनि वा छोरी भान्जीले व्यवसायमा गरेको संघर्ष मज्जाले देखेका छौं । कति पय मुर्धन्य कानून व्यवसायीहरुले महिला कानून व्यवसायीलाई पेशामा हुने भेदभाब र संघर्षबाट टाढा राख्न आफ्नै छोरी, भान्जी बुहारीलार्ई कानून बिषय नै नपढाएको, पढ्न नसुझाएको देखिएको सुनिएको छ । महिला कानून व्यवसायीहरुले पेशामा अनेक बाधाहरु खेपेको देखिन्छ । बेलायतमा महिला कानून व्यवसायीहरु कम नरहे पनि लैंगिक हिसाबले हेरिने, सिनियरहरुले महिला कानून व्यवसायीहरुलाई खासै सहयोग नगर्ने, ल फर्महरुमा महिला भन्दा पुरुष कानून व्यवसायीले बढी अवसर पाउने, पारिश्रमिक कम हुने, समय बढी खर्चिनु पर्ने, दुर्व्यवहारको समेत सिकार हुनु पर्ने र घर र व्यवसायलाई सन्तुलित गर्न गाह्रो हुने महिला कानून व्यवसायीले पेशागत असजिलो सामना गरेको देखिन्छ । अमेरिका युरोप तिर हेर्ने हो भने पनि महिला कानून व्यवसायीका चुनौती उस्तै नहोलान तर चुनौती बिहिन पक्कै छैनन् । कानून व्यवसाय दक्षता, गोपनियेता र विश्वासमा बढी भर पर्दछ । त्यसैले पनि बाहिरका राष्ट्रहरुमा महिला कानून व्यवसायीहरुलाई पुरुष जस्तै प्राथमिकतामा राखिएको हुन्छ किनकि संघर्ष गरेर आएको महिला कानून व्यवसायीमा काबिलियत पनि कम हुँदैन, अझ महिला कानून व्यवसायीसँग बढी गोपनियता र विश्वास हुने धारणा राखेको पाइन्छ। तसर्थ महिला कानून व्यवसायीले घर देखी व्यवसाय सम्म आउने चुनौतीलाई सामना गर्ने साहस र व्यवसायिक अठोट राख्ने हो भने र व्यवसायीको सामाजिक परिस्थितिलाई सहज रुपमा लिएर अघि बढ्ने, व्यवसायिक सम्बन्ध बढाउने, आफ्नो व्यवसायिक विशेषतालाई बेखुबी देखाउने र आफूलाई अलग रुपमा पहिचान दिलाएर आफ्ना बिचार अभिव्यक्ति राख्ने, निडर हुने र व्यवसायिक आचरणमा रहने हो भने महिला कानून व्यवसायीले कानून व्यवसायलाई पुरुष सरह वा अझ भनौं पुरुषले भन्दा बढी योगदान दिई नेतृत्व गर्न सक्ने कुरामा दुई मत नहोला । तर यसका लागि हाम्रै व्यवसाय भित्रको सोचमा धेरै परिवर्तन हुनु पर्ने आवश्यक देखिन्छ । घर, माइती, श्रीमान, ससुराले समेत व्यवसायिक अभिविद्धिका लागि सहयोग गर्दा समेत पारिवारिक नाता कै भरमा एउटै तराजुमा राखेर हेर्ने संकुचित सोचका व्यक्तिहरुको कमि छैन भने महिला कानून व्यवसायीको संघर्ष कम चुनौतीपूर्ण छैन ।
रोशनी, आज तिम्रो जन्म दिनमा पुराना केही यादहरुलाई समेट्न मन लाग्यो । तिमि र म एउटै व्यवसायमा हुँदा एक अर्कालाई बुझेका छौं पारिवारिक सहयोग मिलेको छ, व्यवसायमा समेत । तर आज कति महिला कानून व्यवसायी जुन व्यवसायिक लक्ष्य लिएर पेशामा आएका छन् जसको व्यवसायिक आधार छैन, पारिवारिक सहयोग छैन । घर र व्यवसायलाई सन्तुलन गर्न सकेका छैनन् अनि आयको स्रोत पनि एक्लैले जुटाउनु पर्नेछ । व्यवसायिक अभिविद्धिका सम्भावनाहरु खासै छैनन्, पारिवारिक बोझ छ, चुनातीपूर्ण र संघर्षशिल व्यवसायमा अविचलित हुनु छ । उनीहरुले बुझ्नु पर्ने कुरा के हो भने व्यवसाय कठिन छ सहयोगी वातावरण छैन त्यसैले त त्यसमा जुधेर संघर्ष गर्नुको मज्जा गज्जब छ । मलाई विश्वास छ रोशनी तिम्रो जन्मदिनमा अझ बढी व्यवसायिक आत्मविश्वास तिमिलाई मिलोस् अनि सबै महिला कानून व्यवसायीलाई । जन्मदिनको हार्दिक शुभकामना !!