सुदूरपश्चिम प्रदेशसभाको बैठकमा अध्यादेश पेस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजश्व सङ्कलनसम्बन्धी अध्यादेश,२०८१’ पेस गरिएको छ । आज प्रारम्भ भएको प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो दिनको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश पेस गर्नुभएको हो ।

मन्त्री थापाले बजेट पारित नभएको, राजश्व सङ्कलन गर्न कानुनी व्यवस्था नभएकोे अवस्थामा राजश्व सङ्कलनका लागि नेपालको संविधानको धारा २०३ बमोजिम अध्यादेश जारी गरिएको बताउनुभयो । अध्यादेश जारी गरिएसँगै कर, दस्तुर, सेवा शुल्क, महशुल, दण्ड जरिवाना, रोयल्टी, ब्याज सङ्कलनका लागि बाटो खुलेको छ ।

बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य जुनाकुमारी दानीले वर्षासँगै बाजुराको हिमाली गाउँपालिका—३को गोरुखर्कमा यही साउन २६गते गएको पहिरोमा परी भएको धनजनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले पहिरोमा परी प्रेमकला बुढा, हङ्स बुढा, ललिता बुढा र अनौति रोकाया घाइते हुनुभएको, ४१ पशु चौपाया मरेको र पहिरोका कारण ३० परिवार समस्यामा परेको उल्लेख गर्नुहुँदै घाइतेको उपचारको व्यवस्था गरी प्रभावितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराउनुभयो । उहाँले वर्षासँगैको पहिरोका कारण अवरुद्ध बनेको साँफे–मार्तडी सडक र मार्तडी–कोल्टी सडकमा आवागमन चाँडो सञ्चालनको माग गर्नुभयो ।

आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेशसभा नियमावली बमोजिम विधायन तथा प्रदेश मामिला समिति सदस्यमा रमेशसिंह धामी र लक्ष्मी बिक, सार्वजनिक लेखा समिति सदस्यमा दीर्घबहादुर सोडारी, गीतादेवी माल, र अक्कलबहादुर रावल, सामाजिक विकास समिति सदस्यमा माया पन्त, ओम विक्रम भाट र झपटबहादुर साउँदलाई मनोनयन गरिएको जानकारी गराउनुभयो ।

बैठकको प्रारम्भमा सभामुख भण्डारीले पाँचौँ अधिवेशन आह्वानसम्बन्धी गरिएको प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा वाचन गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज