काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक बुधबार प्रतिनिधि सभाबाट पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई प्रतिनिधिसभाको बैठकले बहुमतबाट पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले टीआरसी विधेयक पारित गरियोस् भनि निर्णयार्थ प्रस्तुत गरेका थिए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबाहेक अरु सांसदले विधेयक पारितको पक्षमा मत दिएका थिए ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेको थियो । प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो ।
विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो । समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो ।
प्रतिनिधि सभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखबाट प्रमणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइन्छ । राष्ट्रपतिले प्रमणीकरण गरेपछि कानून बन्नेछ ।