सशस्त्र युद्धका क्रममा वेपत्ता लक्ष्मीको २२ वर्षपछि अदालतबाट मृत्युको न्यायिक घोषणा

विराटनगर । जिल्ला अदालत मोरङले पथरीशनिश्चरे नगरपालिका–५ की लक्ष्मी खतिवडालाई बेपत्ता भएको २२ वर्षपछि मृत्युको न्यायिक घोषणा गरिदिएको छ । अदालतले मृत्युको न्यायिक घोषणा गरिदिए पनि उनको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरि काजकिरिया गरेका छन् ।

सशस्त्र युद्धका समयमा २०५८ मंसिरमा भूमिगत भएकी लक्ष्मीलाई २०५९ मा भदौ १७ गते राज्यपक्षले पक्राउ गरेको थियो । पक्राउ पछि उनी बेपत्ता थिइन । बेपत्ता भएको २२ वर्षसम्म अवस्था पत्ता नलागेपछि लक्ष्मीको मृत्युको न्यायिक घोषणा गर्न माग गर्दै २०८० साउन १४ गते उनका बुबा जनकलालले जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए । परिवारबाट निवेदन परेपछि सर्जिमिन गरेर अदालतले मृत्युको न्यायिक घोषणा गरेको हो । मुलुकी देवानी संहिताको दफा ४० को ४ मा बेपत्ता व्यक्तिको मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रावधान छ । मुलुकी देवानी संहितामा विना सूचना १२ वर्षसम्म बेपत्ता भए मृत्यु भएको मानिने उल्लेख छ । त्यहि प्रावधानलाई टेकेर अदालतले लक्ष्मी पक्राउ परेको दिनलाई आधार मान्दै २०८० भदौ २५ गते मृत्युको न्यायिक घोषणा गरिदिएको हो ।

कुशको शव बनाएर परिवारले उनको दाहसंस्कार गरेपछि लक्ष्मीका ८३ वर्षीय बुबा जनकलाल खतिवडा काजकिरियामा बसेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज