काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको छ । पर्यटनमन्त्री बद्री पाण्डेको निर्देशनमा रोलक्रम मिचेर दोस्रो नम्बरका जोशीलाई नियुक्त गरेको भन्दै पहिलो नम्बरमा रहेका डा. रेग्मीले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
निवर्तमान सीईओ समेत रहेका रेग्मी सीईओ छनौटमा लिखित परीक्षा र प्रस्तुतिलगायत विज्ञहरूको टीमले दिएको नम्बरअनुसार पहिलो नम्बरमा रहेका थिए । तर मन्त्रालयले सीईओ नियुक्ति गर्दा छनौट समितिले प्राप्त नम्बरका आधारमा नभई दोस्रो नम्बरका दीपकराज जोशीलाई बोर्डको गरिएको रेग्मीले रिटमा उल्लेख गरेका छन् ।
मन्त्री पाण्डेले अनूचित प्रभावमा परेर जोशीलाई सीईओ नियुक्त गर्न छनौट उपसमितिलाई निर्देशन दिएको रेग्मीले आरोप लगाएका छन् । रिट निवेदनमा रेग्मीले प्रत्येक उम्मेदवारले पाएको अंक सार्वजनिक गरी नतिजा प्रकाशन, सिफारिस र नियुक्त गर्नुपर्नेमा त्यसो नगरी अपारदर्शी ढंगले जोशीलाई गरिएको भन्दै उनको नियुक्ति बदर गर्न उत्प्रेषणको आदेश माग गरेका छन् ।
रिटमा आवदेकले परीक्षामा पाएको प्राप्तांक नै नहेरी गरिएको नियुक्ति र नियुक्ति पत्रले वैधानिक प्राप्त गर्न नसक्ने जिकिर गर्दै रेग्मीले कार्यकारी पदमा नियुक्ति गर्दा यसअघि सर्वोत्कृष्ट अंक ल्याउनेलाई नियुक्ति दिइएको दृष्टान्तको समेत यसपटक अवज्ञा भएको दाबी गरेका छन् । । रेग्मीले जोशीको नियुक्ति बदर गरी आफूलाई नियुक्त गर्न आदेश माग समेत गरेका छन् । रेग्मीको रिटमाथि सुनुवाइका लागि बुधवार पेशी तोकिएको छ ।