काठमाडौं । ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको रकम अपचलनमा नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ संलग्न रहेको कागजातहरू बाहिरिएपछि यसबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको छ ।
सीआईबीले मितेरी सहकारीको सवालमा सहकारी रजिष्ट्रारको कार्यालय हेटौडाबाट आएको पत्रका आधारमा जाहेरी दर्ता गरेर अनुसन्धानलाई अघि बढार्एको थियो । सहकारी रजिष्ट्रार हेटौंडाबाट महाप्रबन्धक ज्योति गुरुङ र उनलाई सहयोग गर्ने पूर्वकर्मचारीहरु ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध जाहेरी आएको थियो । ज्योति गुरुङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् । सहकारीको आन्तरिक छानबिनले रकम अपचलन भएको देखिएको भन्दै रजिष्ट्रारको कार्यालयमा दिइएको उजुरीमा धनराजलाई समेत प्रतिवादी बनाउन माग गरिएको थियो थियो । तर रजिष्ट्रार कार्यालय धनराजको नाम काटेर बाँकी जनाको नाम सीआईबीमा पठाएपछि सहकारीका सचिव बोधबिक्रम थापाले सीआईबीमा धनराजको समेत नाम उल्लेख गरेर पुनः जाहेरी दिएका छन् ।
सीआईका अनुसार सहकारी अपचलनको हकमा सोझै व्यक्तिले दिएको जाहेरी दर्ता गर्न नमिल्लेन भएकाले जाहेरी दर्ता भइसकेको छैन । सहकारीलाई सम्बन्धीत सहकारी विभाग तथा कार्यालयबाट आउन भनिएको छ ।
तर श्रोतका अनुसार सीआईबीले धजराजमाथि समेत आन्तरिक रुपमा अनुसन्धान शुरु गरेको छ । प्रारम्भीक अनुसन्धानका क्रममा धनराजले सहकारीमा तिरेको रकम समेत शंकास्पद रहेको पाइएको सीआइबी श्रोतले जनाएको छ ।
मितेरी सहकारीबाट ऋण लिएका धनराजले ६८ लाख २६ हजार ९१४ रुपैयाँ एकैदिन तिरेको काजगपत्र सार्वजनिक भएका छन् । धनराजको तर्फबाट भनेर अरु नै व्यक्तिले एनएमबी बैंकको चेकमार्फत २०८१ बैशाख १७ गते चार वटा चेकमार्फत १४ लाख रुपैयाँका दरले ५६ लाख र एउटामा १२ लाख २६ हजार ९१४ रुपैयाँ रकम जम्मा गरेको देखिन्छ । २०८१ जेठ ६ गते धनराजको तर्फबाट थप ८ लाख ८९ हजार ७२० रुपैयाँ मितेरी सहकारीको खातामा जम्मा भएको देखिन्छ ।
सीआईबीले पहिलो पटक चेकमार्फत जम्मा भएको रकमको श्रोत को हो भनेर खुलाउन नचाहेपनि अर्कै व्यक्तिको खाताबाट एकै दिन पटक पटक रकम जम्मा गरिएको देखिदा यसलाई शंकास्पद मानि छानबिन थालिएको छ ।
कांग्रेस उपसभापति धनराजले भने सहकारीको ऋण घर बचेर तिरेको बताएका छन् । उनले आफूले घर बेचेँको व्यक्तिले नै उक्त रकम उनको तर्फबाट सहकारीमा जम्मा गरेको दाबी गरेका छन् । धनराजले श्रीमति ज्योतिसँग २०७६ फागुन २९ गते डिभोर्स गरेका बताएका छन् ।