काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्ष निकाल्दै उनलाई कारबाहीका लागि लेखी पठाउने भएको छ ।
लामिछाने प्रवन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा सूर्यदर्शन लगायतका सहकारीको रकम जीबी राईले मार्फत गएको र त्यसरी आएको रकम रविमार्फत खर्च भएको पाइएको समितिको निष्कर्ष छ । समितिका अनुसार स्वर्णलक्ष्मी, सुप्रिम, सूर्य दर्शन, साहारा लगायतका सहकारीको करिब ६२ करोड रकम गोर्खा मिडियामा आएको देखिन्छ । ४६ करोड जीबी राईको नाममा र १७ करोड गोर्खा मिडियाको नाममा आएको देखिन्छ । गोर्खा मिडियामा जीबी राई अध्यक्ष र रवि प्रबन्ध निर्देशक थिए । गोर्खा मिडियाका तीन जना सञ्चालक (जीबी, रवि र छविराज जोशी) ले संयुक्त खाता खोलेका थिए । रवि लामिछाने प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटा चेकबाहेक सबैमा उनले नै हस्ताक्षर गरेको छानबिनमा पाइएको छ । त्यसैले गोर्खा नेटवर्क प्रालिमार्फत भएको अपचलनमा लामिछानेको संलग्नता देखिएकोले उनलाई कानुनसम्मत कारबाहीका लागि लेखी पठाउने समितिमा सहमति भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।