पोखरा । जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले १० दिनका लागि सुरुमा समय चाहिने दाबी गरेको थियो । तर अदालतले ५ दिनको समय दिएको हो ।
गोर्खा मिडियामा विभिन्न सहकारीबाट आएको ६५ करोडभन्दा बढी रकम अपचलनमा जोशीको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।
विदेश जाने तयारीमा रहेको सूचनाका आधारमा प्रहरीले जोशीलाई काठमाडौंको शंखमूलबाट जरुरी पक्राउ पुर्जी दिएर आइतबार पक्राउ गरेको थियो । उनलाई आइतबार साँझै बुद्ध एयरको प्लेनबाट पोखरा लगिएको थियो । सोमबार उनलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो । जोशीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने बताइएको छ ।
सम्बन्धित समाचारः
https://www.kanunkhabar.com/contemporary/19915/