काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले बालविवाह गरेकै आधारमा नाबालकहरुलाई बलात्कारको मुद्दा नचलाउन सरकारी वकिलका कार्यालयहरुलाई परिपत्र गरेको छ । महान्यायाधिवक्ता कार्यालयले बलात्कार भएकै घटनाबाहेक बालविवाहको कसुर आकर्षित हुने अवस्थामा अरु मुद्दा नजोड्न परिपत्र जारी गरेको हो ।
कतिपय अवस्थामा प्रेममा परेर वा बाबुआमाको मञ्जुरीबिना विवाह गरेका नाबालकहरुलाई अभिभावकले बलात्कार, अपहरण तथा शरीर बन्धक लगायतका एकीकृत कसुरमा मुद्दा चलाउने गरेको पाइएको भन्दै महान्यायाधिवक्ता कार्यालयले यस्तो परिपत्र जारी गरहेको बताइएको छ ।
बालबालिकाको सर्वोत्तम हितलाई संरक्षण गर्नु नेपाल सरकारको कर्तव्य रहेको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालयको निर्णयमा भनिएको छ, ‘यस्तो अवस्थामा अनुसन्धान र अभियोजन गर्दा अधिक अपराधीकरण गरी नाबालकलाई धेरै मुद्दा चलाउने भन्दा सुधार गर्ने गरी अनुसन्धान र अभियोजन गर्नु उचित हुन्छ ।
महान्यायाधिवक्ता रमेश बडालले अरु अपराध गर्ने उद्देश्य नराखेको तर बालविवाह गरेकै कारण अरु कसुर आकर्षित हुने देखिएमा ‘अधिक अपराधीकरण नहुने व्यवस्था गर्नु’, भनी परिपत्र गरिएको बताए ।