काठमाडौँ । नेपाल बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालत प्रशासनले घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी गरेको छ ।
अध्यक्ष घिमिरेले गत शुक्रबार नेपालको पहिलो डिजिटल बार उद्घाटन कार्यक्रममा बोल्दै न्यायाधीश नियुक्ति गर्दा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलले लेनदेन गरेको भन्दै अभिव्यक्ति दिएका थिए । गत शुक्रबार सर्वोच्च अदालतमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई न्यायाधीशमा सिफारिश गरिएको थियो ।
घिमिरेले आफूलाई थुनेर देखाउन चेतावनी दिँदै प्रधानन्यायाधीशले लेनदेन गरेर दुई जना न्यायाधीश नियुक्त गरेको दाबी गरेका थिए। उक्त कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले भनेका थिए, अहिलेको बार गैरसंवैधानिक काममा कम्प्रमाइज गर्दैन। गैरन्यायिक काममा कम्प्रमाइज गर्दैन। आज मैले जति बोलेको छु नि प्रधानन्यायाधीशको खिलाफमा। सक्नुहुन्छ भने प्रधानन्यायाधीशज्यू, मलाई थुन्न मिल्छ तपाईंले थुन्नुस्। मलाई थुनेर तपाईंले गरेको गैरन्यायिक र गैरसंवैधानिक काम संवैधानिक हुन्छ भने थुन्नुस्। मेरो चुनौती हो। मैले त तपाईंलाई लेनदेनको आधारमा न्यायाधीश नियुक्ति गर्नुभयो भनेर भनिसकेँ। मैले त तपाईंलाई यो आफूले लिएको हिसाबकिताब मिलानका लागि न्यायाधीश नियुक्ति गर्नुभयो भनेर भनिसकेँ। सक्नुहुन्छ थुन्न भने थुन्नुस्।’