हामीले नेपाल बार एसोसिएसनको सबै कामको विरोध मात्रै गरेर बसेका छैनौ र थिएनौँ । राम्रो कामको त समर्थन पनि त गरेकै छ नि । तर विगत एक वर्ष देखि यस्तो बाटोमा गतिविधि भए कि फलस्वरूप इतिहासमा नै नेबाए नेतृत्व यति कम्जोर, निकम्मा र निरीह रहेको संभवत यो नै नेबाए इतिहासको पहिलो घटना हुनुपर्छ ।
मेरो बिचारमा नेपाल बार एसोसिएसनको नेतृत्व कमजोर हुनुका पछाडि केही प्रमुख कारण :-
नेतृत्व भित्र आन्तरिक विभाजन छ जहाँ एकले आर्कोलाई सहजै स्विकार्न सकेको देखिदैन, विभिन्न विचारधाराका समूहहरूको बिचमा सङ्घर्ष र विभाजनको अवस्था बिस्तारै बिस्फोट हुँदै गएको देखिन्छ । जसलाई सम्बोधन गर्न र सुन्न नसक्दा नेतृत्व निरन्तर असफलता तिर उन्मुख भएको अवस्था विद्यमान छ ।
एक आपसमा हुनुपर्ने स्पष्ट सञ्चारको कमीका कारण बारका सदस्यहरू बीचको विश्वासमा निरन्तर कमी आएको तथा कार्यसमितिका सबैको उपस्थित समेत नहुनु, अनि आफ्नो अभियानमा करिब 50/60 जनाको उपस्थिति समेत गराउन नसक्नुले आम सदस्यहरूको मन जित्न सक्ने गरि कुनै अभियान नै सञ्चालनमा ल्याउन नसकेको प्रस्ट देखिन्छ ।
राजनीतिक चासो र हस्तक्षेपले बार एसोसिएसनको स्वायत्तता र निर्णय क्षमतामा गम्भीर अवरोध पुर्याएको छ । अहिले नेपाल बार एसोसिएसन आफ्नै कार्यसमिति या फरकमत राखेकै कारण नेतृत्व जो कसैलाई यो या त्यो तरहमा निषेध या अस्वीकार गर्ने तथा कसैलाई बोकेर घरी राँची, घरी काँसी पुग्ने परिपाटीले आम सदस्य र शुभ चिन्तकका बिच दैनिकजसो स्वत स्खलित बन्दै गएको अवस्था जगजाहेर छ ।
हिजो गरेका प्रतिवद्धता र सोको कार्यान्वयन र सञ्चालनमा पारदर्शिताको अभाव, नेतृत्वको निर्णय प्रक्रियामा पारदर्शिता नहुँदा आम सदस्यहरूको विश्वसनीयता क्रमश: घट्न गएको स्पष्टरूपमा देखिनुलाई संस्थागत सुदृढीकरणको विपरित सञ्चालन गरिएको गतिविधि हो भन्न सकिन्छ।
नेबाए नेतृत्व संस्था सञ्चालन, सुधारको क्रममा पूर्णतः कम्जोर सावित हुनुको पछाडि उनीहरूमा नेतृत्व सञ्चालन गर्ने सीप र तालिमको कमी , नेतृत्वमा रहेका व्यक्तिहरूको कानूनी ज्ञान र व्यवस्थापन सीपको अभाव या यी सबै पुस्ट भएर पनि स्वयं कहिँकतैबाट स्व: परिचालित या कुनै खास अभीष्ट पूरा गर्न मात्रै प्रभावकारीरुपमा बारमा लागेको देखिन्छ अनि जस्ले यी बिषयहरुमा कारण सहित बिमती जनाए उनिहरुलाई स्वीकार नगर्ने परिपाटीको बिकास भएको समेत देखिन्छ ।
हिजोआजको नेबाए गतिविधि, सहभागीता, समर्थन र बिषय बस्तुको उठान हेर्दा र सामाजिक संजालमा संस्थागत उपस्थित हेर्दा नेबाए समस्याहरूको समाधानमा पूर्णतः असफलतातिर उन्मुख रहेको र आम सदस्यहरूको चासो र समस्याहरूलाई सम्बोधन गर्न असफल हुँदा, नेतृत्वको विश्वसनीयता क्रमश: घटदै गएको देखिन्छ ।
यी र यस्तै तमाम कारणहरूले नेपाल बार एसोसिएसनको नेतृत्वलाई कमजोर बनाएको छ। यो मेरो निजि बिचार हो सबै सङ्ग मेल खान सक्छ भन्ने पनि छैन, मेरो अध्ययन क्षमताले नभ्याएको पनि हुन सक्छ ! यधपी बार सदस्यको नाताले यो भन्नू जरुरी छ कि नेबाएले सबैलाई स्वीकार गरोस, सबैको कुरा सुनोस , साझा निर्णय गरोस, सबको मन जितोस, सबको राय बुझोस, अनि गर्नुपर्ने र नगरी नहुने कामको निस्पक्ष, स्वतन्त्र र निर्भीक तवरले वकालत गरोस । के यो गर्न सक्ने सम्भावना छैन नेपाल बार एशोसिएशन ?