समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ७ दिनको ‘अल्टिमेटम’

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका विभिन्न १८ वटा सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ७ दिनको ‘अल्टिमेटम’ दिएको छ । समितिले बिहीबार सूचना प्रकाशित गर्दै ऋणीहरुलाई यस्तो अल्टिमेटम दिएको हो ।

समितिको सूचना अनुसार अन्तिम पटक ऋणी र जमानतकर्तालाई ऋण तिर्न ७ दिनको समय दिइएको र ७ दिनभित्र ऋण चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका सदस्यको सम्पत्ति रोक्का र कालोसूचीमा राखिने छ ।

सूचनामा भनिएको छ, ‘अन्तिम पटक ७ दिने सूचना प्रकाशित गर्ने र सो अवधिसम्म पनि ऋणीहरू तथा जमानीकर्ताहरूले आफ्नो दायित्व तिर्न बुझाउन नआएमा निज ऋणी र निजका एकाघरका परिवारको सम्पत्ति, बैंक खाता तत्काल रोक्का गर्ने, कालोसूचीमा राखिने छ,’ । ‘रोक्का राखिएको सम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (क) (ख) (ग) सहकारी नियमावली, २०७५ बमोजिमको कारबाही अगाडि बढाइ ऋण असुल उपर गर्ने निर्णय भएको छ ।’

समितिले यस अघि नै राष्ट्रियस्तरको पत्रपत्रिका र एसएमएस मार्फत पटक पटक सूचना पठाएर समस्याग्रस्त घोषित संस्थाका सञ्चालक, व्यवस्थापकहरू, ऋणी सदस्यहरू र कर्मचारीलाई आफ्नो दायित्व भुक्तानीका अनुरोध गरिएको उल्लेख गरेको छ । समितिले तोकिएको समयमा ऋण भुक्तानी नगर्ने र दायित्व नबुझाउने ऋणी तथा कर्मचारीहरुको सम्पत्ति रोक्का राख्ने, कालोसूचीमा राख्ने र एकाघर परिवारको सम्पत्ति बिक्री गरेर ऋण असुल गर्ने निर्णय भएको उल्लेख गरेको छ ।

समितिले ऋण तिर्न ७ दिनको अल्टिमेटम दिएका सहकारीहरुमा कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, ओरेन्टल कोअपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था तुलसी बहुमुखी सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज